काठमाडौँ –चीनको ल्हेन्दे खोलामा आएको बाढीका कारण चीनमै अड्किएका रसुवाका ७० जना नेपाली नागरिकलाई घर फर्किन सुवास तिमिल्सिनाले दुईवटा बसको व्यवस्था गरेका छन्। सिन्धुपाल्चोकको बलेफीका तिमिल्सिना नेपाली कांग्रेस सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष समेत हुन्।
गत असार २४ गतेको बाढीपछि २०३ नेपाली नागरिक चीनमा फसेका थिए, जसमा ७० जना रसुवाका थिए। उनीहरूलाई तातोपानी नाकाबाट काठमाडौँसम्म ल्याउन भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका र पूर्वअरनिको यातायात समितिले ७ वटा बसको व्यवस्था गरेका थिए। तीमध्ये चारवटा बाह्रबिसे नगरपालिकाले र तीनवटा केदार क्षेत्रीमार्फत मिलाइएको थियो।


काठमाडौँ आइपुगेपछि रसुवा जान बाँकी रहेका नागरिकका लागि तिमिल्सिनाले व्यक्तिगत खर्चमा बसको व्यवस्था गरेका हुन्। “विपद्मा परेकालाई सहयोग गर्नु धर्म हो,” तिमिल्सिनाले भने, “जुनसुकै बेला, जहाँसुकै कसैलाई पनि विपद् पर्न सक्छ। त्यसैले सकेको सहयोग गरेको हुँ।”
उनका अनुसार यसअघि पनि उनले स्वास्थ्य, शिक्षा र बालबालिकासम्बन्धी क्षेत्रमा सहयोग गरेका छन्।
भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाका अनुसार तातोपानीमै फर्किएकाहरूका लागि खाना र स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको थियो। तीमध्ये केही बिरामी, नियमित औषधि सेवन गर्ने र दुई बालबालिका समेत रहेका थिए।







