काठमाडौं – सामाजिक तथा पारिवारिक कथामा आधारित वेब सिरिज देउरानी ले १०० औं भाग सफलतापूर्वक पूरा गरेको अवसरमा पत्रकार नवराज बजगाईलाई विशेष सम्मान गरेको छ।
आईतबार अनामनगरमा आयोजित कार्यक्रममा दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई कला, संस्कृति, साहित्य तथा समाज परिवर्तनमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको देउरानी का निर्देशक विष्णु रिजालले बताए।

बजगाईलाई वरिष्ठ कलाकार मिथिला शर्मा, जयकिशन बस्नेत, बागमती प्रदेशकी पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईं, कलाकार विष्णु सापकोटा, विद्या कार्की तथा देउरानी टिमका सदस्यहरूले सम्मानपत्र प्रदान गरे। सोही अवसरमा सञ्चारकर्मी पुजन धिताल र देउरानी का कलाकारहरूलाई पनि सम्मान गरिएको थियो।
बजगाई प्रेस चौतारी काभ्रे र अनलाइन मिडिया सञ्जाल काभ्रेका सल्लाहकार, पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष, नव क्षितिज साप्ताहिक का प्रकाशक/प्रधान सम्पादक तथा राम्रो सन्देश डट कम का सञ्चालक/प्रधान सम्पादकका रूपमा सक्रिय छन्।







