सिन्धुपाल्चोक – नेपाल-चीन व्यापारिक तातोपानी नाकानजिक रहेको लिपिङ खोलामा नेपाली सेनाको बृजिङ युनिटले आजदेखि बेलिबृज जडान कार्य सुरु गरेको छ। गत असोज १२ गते आएको भीषण बाढीले सो स्थानमा रहेको पक्की मोटरेबल पुल बगाएपछि यातायात अवरुद्ध भएको थियो। आवागमन पुनः सुचारु गर्न अस्थायी बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाइएको हो।
पुल जडान कार्यको निरीक्षण गर्दै प्रतिनिधिसभा सदस्य माधव सापकोटा “सुबोध”ले निर्माण कार्यलाई आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पुल निर्माण समयमै सम्पन्न गर्न सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन समेत दिए। नेपाली सेनाले पाँच दिनभित्र बेलिब्रिज जडान कार्य पूरा गर्ने जानकारी दिएको छ।


तातोपानी नाका नेपालको प्रमुख व्यापारिक मार्गहरूमध्ये एक हो। चीनसँगको व्यापारका लागि महत्वपूर्ण यस नाकामा पुल बगाएपछि आयात-निर्यात ठप्प बनेको थियो। पुल पुनर्निर्माणले चीनसँगको व्यापार पुनः सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। स्थानीय व्यवसायीहरूले पुल पुनः सञ्चालन भएपछि व्यापारिक गतिविधिमा सहजता आउने विश्वास व्यक्त गरेका छन्।
सरकार तथा सरोकारवालाहरूको सहकार्यमा निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ, जसले चीनबाट आउने सामान तथा नेपाली निर्यातलाई सहज बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।







