काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित तथा प्रभावित नागरिकहरूको राहत र पुनर्स्थापनाका लागि जापानस्थित तीन संस्थाले ३५ लाख ४७ हजार ५३६ रुपैयाँ सहयोग गरेका छन्।
नेपाल सरकारको आह्वानबमोजिम जापान नेपाल सोसाइटी (JNS), नेपाल जाइकाका अलमनाई एसोसिएसन (JANA) र सम्बृद्धिका लागि यथायोग्य कार्य संस्था (ISCAP) ले संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।
कृषि प्रवर्द्धन आयोजना नेपाल (APIN) का टिम लिडर तथा JANA का अध्यक्ष डा. रामचन्द्र भुसालको नेतृत्वमा गएको टोलीले सहयोग रकम हस्तान्तरण गरेको हो। संस्थाहरूका सदस्य तथा शुभचिन्तकबाट स्वैच्छिक रूपमा संकलन गरिएको रकममध्ये जापान नेपाल सोसाइटीबाट २२ लाख २६ हजार ५६० रुपैयाँ, नेपाल जाइकाका अलमनाई एसोसिएसनबाट १० लाख ११ हजार ७०५ रुपैयाँ र ISCAP बाट ३ लाख ९ हजार २७१ रुपैयाँ सहयोग प्राप्त भएको हो।
यसअघि JANA का आजीवन सदस्य तथा नेपाल सरकारका पूर्वसहसचिव लोकनाथ देवकोटाले पनि बाढीपीडितको सहयोगार्थ ५० लाख रुपैयाँ अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरिसक्नुभएको थियो।
बाढीपीडित नागरिकलाई सहयोग जुटाएर कठिन परिस्थितिमा नेपाल सरकारलाई साथ दिएको भन्दै अर्थमन्त्री वाग्लेले तीनवटै संस्थाका सदस्य तथा शुभचिन्तकप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
जापान नेपाल सोसाइटीका अध्यक्ष प्राध्यापक डा. योको इसिदाले अर्थमन्त्री वाग्लेलाई पठाउनुभएको पत्रमा बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कठिन परिस्थितिमा जापान नेपाल सोसाइटी र यसका सदस्य नेपाली जनताको साथमा रहने उल्लेख गर्नुभएको छ।

डा. भुसालका अनुसार तीनवटै संस्थाका सदस्यहरूले उहाँको अनुरोधमा स्वस्फूर्त रूपमा सहयोग रकम संकलन गरेका हुन्। उहाँले नेपाल–जापान सम्बन्धलाई सुमधुर बनाउन विगत पाँच दशकदेखि निरन्तर क्रियाशील संस्थाहरूले दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।
जापान नेपाल सोसाइटी र नेपाल जाइकाका अलमनाई एसोसिएसनले विगतमा पनि विपद्का बेला सहयोग गर्दै आएका छन्। सन् २०११ मा जापानमा गएको भूकम्पबाट प्रभावित नागरिकका लागि JANA ले आफ्ना सदस्यबाट रकम संकलन गरी जापान सरकारलाई नेपालस्थित जापानी राजदूतमार्फत पठाएको थियो। त्यस्तै, सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि राहत सामग्री वितरण तथा सामुदायिक विकासका कार्यक्रम सञ्चालनमा समेत सहयोग गरेको थियो।
हाल जापान नेपाल सोसाइटीले ISCAP मार्फत कृषि प्रवर्द्धन आयोजना नेपाल कार्यान्वयनमा सहयोग गरिरहेको छ। यी संस्थाले नेपालमा विपद् राहत, सामुदायिक विकास, कृषि उत्पादन तथा बजारीकरणमार्फत ग्रामीण समुदायको आयआर्जन वृद्धि गर्ने कार्यक्रमहरूमा समेत सहकार्य गर्दै आएका छन्।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति तीनवटै संस्थाले गहिरो दुःख व्यक्त गर्दै बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै राहत तथा पुनर्स्थापनाका प्रयासमा ऐक्यबद्धता जनाएका छन्।
















