सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा प्रदेश सांसद कृष्णकुमार तामाङ ‘समीर’ निर्वाचित भएका छन्।
असोज १३ गते निर्वाचनका क्रममा समस्या उत्पन्न भएपछि स्थगित भएको निर्वाचन असोज १७ गते पुनः सञ्चालन गरिएको थियो। पुनः भएको निर्वाचनमा तामाङले ५ सय ७९ मत प्राप्त गर्दै क्षेत्रीय सभापतिमा विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी पासाङ दोङ तामाङले ४ सय २८, करुण सागर सिग्देलले ६० र भूपेन्द्र थापाले १ सय ९ मत प्राप्त गरे।
क्षेत्र नं. २ को सभापतिमा निर्वाचित तामाङ नेपाली कांग्रेसभित्र लामो समयदेखि सक्रिय नेताका रूपमा परिचित छन्। उनले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवा पुस्तालाई नेतृत्वमा जोड्ने तथा कार्यकर्ताबीच एकता र सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।
तामाङको नेतृत्वमा क्षेत्र नं. २ को नयाँ कार्यसमितिमा सचिवमा कुमार दुलाल, सहसचिवमा करिस्मा माझी र मनोजकुमार तामाङ निर्वाचित भएका छन्।
त्यस्तै, सदस्यमा गर्वे लामा, गोपिकृष्ण खतिवडा, थलबहादुर तामाङ, पासाङ तामाङ, बसन्त तामाङ र विदुरप्रसाद धिताल निर्वाचित भएका छन्।
कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ मा कृष्णकुमार तामाङ ‘समीर’को विजयलाई आगामी जिल्ला नेतृत्व तथा पार्टीको आन्तरिक संगठनात्मक समीकरणका दृष्टिले समेत अर्थपूर्ण रूपमा हेरिएको छ।
















