काठमाडौं । सदन र सडकमा निरन्तर उठ्दै आएको रासायनिक मल अभावको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नेपालमै ग्रीन हाइड्रोजनमा आधारित ग्रीन युरिया प्लान्ट स्थापना गर्नुपर्नेमा जोड दिइएको छ।
मलको अभावका कारण किसानले हरेक वर्ष समस्या भोग्नुपरेको भन्दै नेपालमा उपलब्ध पर्याप्त विद्युत् र पानीलाई कच्चा पदार्थका रूपमा प्रयोग गरेर हाइड्रोजन, अमोनिया र युरिया उत्पादन गर्न सकिने धारणा अघि सारिएको हो। यससँगै कार्बन डाइअक्साइड क्याप्चर प्रविधिको विकाससमेत गर्न सकिने बताइएको छ।
ग्रीन युरिया प्लान्ट स्थापनाले नेपाललाई मल उत्पादनमा आत्मनिर्भर बनाउनुका साथै आधुनिक प्रविधिमा आधारित उद्योगको विकास र हरित रोजगारी सिर्जनामा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
किसानको बढ्दो मागसँगै रासायनिक मलमा सरकारले दिने अनुदानको रकमसमेत वर्षेनि बढ्दै गएको उल्लेख गर्दै चालु आर्थिक वर्षमा मात्रै मल अनुदानका लागि करिब ५९ अर्ब रुपैयाँ खर्च हुने अनुमान रहेको बताइएको छ। हरेक वर्ष ठूलो रकम अनुदानमा खर्च गर्नुभन्दा स्वदेशमै मल कारखाना स्थापनामा लगानी गर्नु दीर्घकालीन रूपमा प्रभावकारी हुने धारणा राखिएको छ।
त्यस्तै, रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति घटाउने विषयमा जनस्तरमा रहेको चिन्तालाई सम्बोधन गर्दै तत्काल पूर्ण रूपमा अर्ग्यानिक कृषिमा जाने नीति पनि व्यावहारिक नहुने बताइएको छ। सन् २०२१ मा श्रीलंकाले रासायनिक मलमा प्रतिबन्ध लगाएर अर्ग्यानिक कृषितर्फ अघि बढ्दा उत्पन्न भएको संकटबाट नेपालले पाठ सिक्नुपर्ने उल्लेख गरिएको छ।
त्यसैले रासायनिक मलमा मात्रै निर्भर हुने वा पूर्ण रूपमा अर्ग्यानिक मलमा मात्रै जानेभन्दा अर्ग्यानिक मलको प्रयोग बढाउँदै, रासायनिक मलमाथिको निर्भरता क्रमशः घटाउँदै दुवैको उचित सन्तुलन कायम गर्ने नीति आवश्यक रहेको बताइएको छ।
नेपालमा ग्रीन युरिया प्लान्ट स्थापनाका लागि अहिले उपयुक्त समय रहेको दाबी गर्दै यस विषयमा सदनमा पटक–पटक आवाज उठाउँदै आएको उल्लेख गरिएको छ। प्रधानमन्त्रीले समेत Expression of Interest (EOI) आह्वान गरी नेपालमै ग्रीन युरिया कारखाना स्थापना गर्ने प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको बताइएको छ।
ग्रीन युरिया प्लान्ट स्थापना भएमा नेपालको विद्युत् खपत बढ्ने, आधुनिक उद्योग स्थापना हुने, रोजगारी सिर्जना हुने, मल खरिदका नाममा हरेक वर्ष बाहिरिने ठूलो रकम जोगिने तथा कृषि क्षेत्रमा आत्मनिर्भरतातर्फ अघि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
















