मेलम्ची -नेपाली कांग्रेसको देउवा पक्षअन्तर्गत १५औँ महाधिवेशन तयारी समितिले सिन्धुपाल्चोकको मेलम्ची बजारमा सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरेको छ। महाधिवेशनको तयारीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले स्थापना गरिएको सम्पर्क कार्यालयको उद्घाटन नेपाली कांग्रेसका नेता तथा पूर्व प्रदेशसभा उम्मेदवार विकास तामाङले गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ का संयोजक प्रकाश बस्नेत लगायत पार्टीका विभिन्न तहका जिम्मेवार नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।सम्पर्क कार्यालयमार्फत महाधिवेशनसम्बन्धी गतिविधि, संगठनात्मक समन्वय तथा आवश्यक तयारीलाई प्रभावकारी रूपमा अघि बढाइने बताइएको छ।
कार्यक्रममा सहभागी नेताहरूले पार्टीको आगामी महाधिवेशनलाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न आपसी समन्वय र सक्रियता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र संगठनात्मक गतिविधि तथा आन्तरिक तयारी तीव्र बन्दै गएको अवस्थामा मेलम्चीमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको हो।
















