मेलम्ची । मेलम्ची नगरपालिकाको पहलमा मेलम्ची खानेपानी आयोजनाको मुख्य प्रवेशमार्ग सडक कालोपत्रे गर्ने कार्यका लागि विस्तृत सर्वेक्षण सुरु भएको छ।
मेलम्ची खानेपानी आयोजनाबाट विनियोजित रु. ११ करोड बजेटको लागतमा सडक कालोपत्रे गर्ने योजना अघि बढाइएको हो। उक्त बजेटबाट मेलम्ची पुरानो बजारदेखि करिब ५ किलोमिटर सडक कालोपत्रे गरिने आयोजनाले जनाएको छ।
सडक निर्माणको पूर्वतयारीस्वरूप सुरु गरिएको विस्तृत सर्वेक्षणमा मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको उपस्थितिमा मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजन इन्जिनियर प्रकाश न्यौपाने, इन्जिनियरहरू मुकुन्दप्रसाद अवस्थी, आकाश लम्साल र हेमन्तकुमार शाह तथा मेलम्ची नगरपालिकाका प्रमुख इन्जिनियर सन्तोष बोहोरा लगायतको सहभागिता रहेको छ।
मुख्य प्रवेशमार्गका रूपमा रहेको उक्त सडक कालोपत्रे भएपछि मेलम्ची खानेपानी आयोजना क्षेत्रसम्मको आवागमन सहज हुनुका साथै स्थानीय बासिन्दा तथा आयोजनासँग सम्बन्धित क्षेत्रको यातायात व्यवस्थामा समेत सुधार आउने अपेक्षा गरिएको छ।
नगरपालिकाको पहलमा आयोजना र स्थानीय तहबीचको समन्वयमा अघि बढाइएको सडक निर्माणले मेलम्चीको पूर्वाधार विकासमा समेत थप टेवा पुग्ने विश्वास गरिएको छ।
















