काठमाडौं । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति तथा प्रख्यात शिक्षाविद् प्रा. डा. सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गरी राष्ट्रिय सम्मान प्रदान गर्न सरकारसमक्ष माग गरिएको छ।
प्रतिनिधिसभामा बोल्दै एक सांसदले नेपालको प्राविधिक तथा उच्च शिक्षाको विकासमा शर्माले पुर्याएको ऐतिहासिक योगदानको उच्च सम्मान गर्दै उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्न सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन्।
शर्माको निधनले नेपाली शैक्षिक जगत् र सिंगो राष्ट्रलाई अपूरणीय क्षति पुगेको भन्दै सांसदले उहाँलाई नेपालको आधुनिक शिक्षा विकासका दूरदर्शी व्यक्तित्वका रूपमा स्मरण गरे।
सन् १९८९ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) का प्रथम कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्नुभएका शर्माले नेपालमा प्राविधिक शिक्षाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
त्यसपछि काठमाडौं विश्वविद्यालय स्थापनाको नेतृत्व गर्दै उहाँ विश्वविद्यालयको संस्थापक उपकुलपति बन्नुभएको थियो। सन् १९९१ देखि २०१२ सम्म निरन्तर उपकुलपतिका रूपमा नेतृत्व गर्नुभएका शर्माको कार्यकालमा काठमाडौं विश्वविद्यालयले चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापनलगायतका क्षेत्रमा आफ्नो शैक्षिक कार्यक्रम विस्तार गरेको थियो।
सांसदले शर्माको योगदानलाई केवल एउटा विश्वविद्यालयको विकासमा सीमित नभई नेपालको उच्च शिक्षा, अनुसन्धान र शैक्षिक नीति निर्माणमा समेत दूरगामी प्रभाव पार्ने खालको रहेको उल्लेख गरे।
“उहाँजस्तो शिक्षाविद् जन्मिन देशले फेरि सयौँ वर्ष कुर्नुपर्ने हुन सक्छ। उहाँले आफ्नै सन्तानझैँ हुर्काउनुभएको काठमाडौं विश्वविद्यालय यो देशलाई सुम्पिएर सदाका लागि बिदा हुनुभएको छ,” सांसदले भने।
शर्माको निधन ८६ वर्षको उमेरमा काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा भएको हो।
यसैबीच, उहाँको अन्त्येष्टि राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मिता पोखरेलले उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेकी थिइन् भने नेपाल प्रहरीले सलामी दिएको थियो।
सांसदले शोकसन्तप्त परिवारजन तथा काठमाडौं विश्वविद्यालय परिवारप्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, प्रा. डा. सुरेशराज शर्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
















