काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीपछि बन्द रहेको तातोपानी नाका पुनः सञ्चालनका लागि सिन्धुपाल्चोक–१ का सांसद भरत प्रसाद पराजुलीले सरकारको ध्यानाकर्षण गराउने भएका छन्।
सांसद पराजुलीले शुक्रबार परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउन लागिएको जानकारी दिएका छन्। उनले जिल्लाका विभिन्न व्यक्तिहरू तथा केही सांसदको टोलीसहित परराष्ट्रमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने तयारी रहेको बताए।



भोटेकोसी बाढीपछि चीनले तातोपानी नाकाबाट हुने व्यापार रोकेर वैकल्पिक रूपमा मुस्ताङको कोरला नाकातर्फ कन्टेनर पठाउन थालेको भन्दै पराजुलीले यसबाट ढुवानी खर्च बढ्नुका साथै उपभोक्तामाथि समेत महँगीको भार पर्न सक्ने बताएका छन्। पछिल्लो समय तातोपानी र रसुवागढी नाका बन्द भएपछि कोरला नाकामा व्यापारिक चाप बढेको छ।
पराजुलीका अनुसार तातोपानी नाका सुरक्षासँग सम्बन्धित कुनै विषयका कारण बन्द गरिएको हो भने सरकारले चीन सरकारलाई त्यसबारे आश्वस्त पार्न आवश्यक पहल गर्नुपर्छ। अन्य कुनै कारण भए त्यसको समाधानका लागि पनि सरकारले कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ।
“सुरक्षासँग जोडिएका प्रश्नहरू छन् भने सरकारले चीन सरकारलाई आश्वस्त पार्न सक्नुपर्छ। अरू विषयहरू छन् भने पनि सरकारले त्यसको सम्बोधन गर्न सक्नुपर्छ,” पराजुलीले भने।
उनले काठमाडौंसँगको दूरीका हिसाबले तातोपानी नाका महत्वपूर्ण रहेको उल्लेख गर्दै वैकल्पिक नाकाका रूपमा कोरला प्रयोग गर्दा दूरी र ढुवानी लागत निकै बढ्ने बताए।
“काठमाडौंबाट ११४ किलोमिटरको तातोपानी नाकाको विकल्प ६५० किलोमिटर टाढाको नाका बन्न सक्दैन,” पराजुलीले भने।
तातोपानी नाका चीनले अगस्ट २९ देखि आयात–निर्यातका लागि अनिश्चितकालका लागि बन्द गरेको हो। चिनियाँ पक्षले नेपाली भूभागमा पहिरोको जोखिमलाई कारण देखाएको बताइएको छ।
यसबीच तातोपानी र रसुवागढी दुवै नाका प्रभावित भएपछि कोरला हुँदै सामान भित्रिने क्रम बढेको छ। नेपाल ट्रक कन्टेनर व्यवसायी महासंघका अनुसार कोरला हुँदै सामान ल्याउँदा ढुवानी लागत अत्यधिक बढेको छ, जसको असर व्यापार तथा उपभोक्ता मूल्यमा पर्न सक्ने व्यवसायीहरूले बताएका छन्।
सांसद पराजुलीले नेपाल–चीन मैत्री सम्बन्धसँग जोडिएको अरनिको राजमार्ग तथा लामो समयदेखि सञ्चालनमा रहेको तातोपानी नाका पुनः सञ्चालनका लागि सरकारले चीनसँग उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन्।











