सिन्धुपाल्चोक । चाडपर्व नजिकिँदै गर्दा चौतारा साँगाचोकगढी नगरपालिकाले बजार क्षेत्रमा सञ्चालनमा रहेका मासु पसल तथा बधशालाको अनुगमनलाई निरन्तरता दिएको छ। नगर उपप्रमुख सिता थापाको नेतृत्वमा नगरपालिकाले आज सुकुटे, साँगाचोकलगायतका बजार क्षेत्रमा सञ्चालनमा रहेका मासु पसल तथा बधशालाको अनुगमन गरेको हो।
अनुगमनका क्रममा बिक्रीका लागि राखिएको मासु स्वस्थकर भए–नभएको, मासु राख्ने तथा बिक्री गर्ने स्थानको सरसफाइ, बधशालाको स्वच्छता तथा व्यवस्थापन, व्यवसाय दर्ता भए–नभएको लगायतका विषयमा निरीक्षण गरिएको थियो। चाडपर्वका समयमा मासुको खपत बढ्ने भएकाले उपभोक्ताले स्वच्छ तथा स्वस्थकर मासु प्राप्त गर्न सकून् भन्ने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिइएको चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाले जानकारी दिनुभयो।स्वस्थ्य तथा गुणस्तरीय मासु उपभोक्ताले सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले बजार अनुगमन गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईँले जानकारी दिनुभयो।



उहाँले मासु पसल तथा बधशालाको सरसफाइ, सुरक्षित भण्डारण र स्वच्छ बिक्री प्रणालीमा व्यवसायीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। यसअघि बुधबार पनि उपप्रमुख थापाको नेतृत्वमा नगरपालिकाको टोलीले वडा नं. ५ र ७ मा सञ्चालित ११ वटा मासु पसल र २ वटा बधशालाको अनुगमन गरेको थियो। सो क्रममा मासु पसलको सरसफाइ, मासु राख्ने तथा बिक्री गर्ने स्थानको अवस्था र बधशालाको व्यवस्थापनलगायतका विषयमा निरीक्षण गरिएको थियो। बुधबारको अनुगमनमा वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठ, उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख त्रिपुरारी बख्रेल, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका प्रतिनिधि, प्रहरी , पशु कार्यालयका प्रतिनिधि , पत्रकार लगायत सहभागी हुनुहुन्थ्यो।
अनुगमनका क्रममा अधिकांश मासु पसलमा सरसफाइ तथा व्यवस्थापनका क्षेत्रमा सुधार आवश्यक देखिएको उपप्रमुख थापाले बताउनुभएको थियो। बधशालालाई समेत व्यवस्थित र स्वच्छ बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो। उहाँले अहिलेलाई सचेत गराइएको बताउदै अर्को पटक नियमानुसार सन्चालन नगर्ने लाई कारवाहि हुने बताउनुभयो । चाडपर्वका समयमा बजारमा खाद्य वस्तुको माग बढ्ने भएकाले नियमित अनुगमन, व्यवसायीको जिम्मेवारी र उपभोक्ताको सचेतनालाई सँगसँगै अघि बढाएर स्वच्छ तथा सुरक्षित खाद्य उपभोगको वातावरण निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।











