काठमाडौं। नेपाल शेर्पा संघले प्रधानमन्त्री विपद् कोषमा २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
संघका केन्द्रीय कोषाध्यक्ष आङदोर्जे शेर्पाका अनुसार बुधबार साँझ करिब ५ बजे अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो।



नेपाल सरकारको अर्थ मन्त्रालयमार्फत उक्त रकम प्रधानमन्त्री विपद् कोषमा जम्मा गरिएको संघले जनाएको छ। विपद्को समयमा प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले संघले उक्त आर्थिक सहयोग गरेको हो।
चेक हस्तान्तरण कार्यक्रममा नेपाल शेर्पा संघका सल्लाहकारलगायत केन्द्रीय पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
चेक हस्तान्तरणबारे जानकारी दिँदै संघका केन्द्रीय कोषाध्यक्ष आङदोर्जे शेर्पाले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएको बताउँदै सहयोग रकम प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा उपयोग हुने विश्वास व्यक्त गर्नुभयो।
संघले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि आफ्नो तर्फबाट सक्दो सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।











