अनिश तिवारी सिन्धुपाल्चोक — नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला तथा विकसित देशले जथाभावी कार्बन उत्सर्जन गर्दा नेपालजस्ता कमजोर मुलुकले त्यसको असर भोग्नुपरिरहेको बताएका छन्। जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्लाई अन्तर्राष्ट्रिय न्यायसँग जोडेर हेर्नुपर्ने उनको भनाइ छ। मंगलबार बाह्रबिसे नगरपालिका–८ मानेश्वारामा स्वर्गीय गंगादेवी पौडेलको सम्झनामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै दाहालले रसुवाको बाढीलाई प्राकृतिक प्रकोपका रूपमा मात्रै बुझ्न नहुने बताए। जलवायु परिवर्तनका कारण यस्ता विपद् बढिरहेको भन्दै उनले विकसित मुलुकलाई जिम्मेवार बनाउनुपर्ने धारणा राखे।
‘रसुवा बाढीलाई प्रलय भनेर मात्रै पुग्दैन, यो मानव निर्मित हो। रोक्न सक्नुपर्थ्यो, तर रोकिएन,’ दाहालले भने, ‘ठूला देशले हामीमाथि गरेको अन्याय हो, अत्याचार हो। जलवायु परिवर्तन हुनुमा मुख्य दोषी धनी अमेरिका, युरोप र चीनजस्ता देश छन्। अनि यसको असर हिमपहिरो, बाढीजस्ता विपत्तिका रूपमा हामीजस्ता कमजोर देशले भोग्नुपरिरहेको छ।’ जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको असर भने नेपालले ठूलो मात्रामा भोग्नुपरिरहेको उनले बताए। नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको माग गर्दै आएको उल्लेख गर्दै दाहालले विकसित मुलुकले गरेका प्रतिबद्धता कार्यान्वयन हुन नसकेको बताए।



‘हामीले अन्तर्राष्ट्रिय मञ्चमा न्याय मागेका छौं, भिख नदेऊ, न्याय देऊ भनेका छौं। तर प्रतिबद्धता मात्रैमा सीमित भएको छ,’ उनले भने। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दाहालले पीडित परिवारप्रति समवेदना व्यक्त गरे। विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए। कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङ, बागमती प्रदेशका अध्यक्ष तथा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद युवराज दुलाल, पूर्वसांसद माधव सापकोटा तथा नेता भीम पराजुलीलगायत सहभागी थिए।











