काठमाडौं — कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा नेपाल र बेलायतबीच न्याय तथा कानूनका क्षेत्रमा संस्थागत सहकार्य विस्तार गर्ने विषयमा उच्चस्तरीय छलफल भएको छ।
मन्त्रालयमा आज बेलायतको सर्वोच्च अदालतका न्यायाधीश राइट अनरेबल लर्ड ह्याम्ब्लेन, ट्रिब्युनल्सका वरिष्ठ अध्यक्ष लर्ड जस्टिस डिङ्गेमन्स, प्रोफेसर मार्क हिल केसी तथा नेपालका लागि बेलायती राजदूत रोब फेनसहितको प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता भएको हो।



भेटका क्रममा न्यायिक स्वतन्त्रता, कानूनको शासन, न्यायमा सहज पहुँच, न्याय सम्पादनको प्रभावकारिता, ट्रिब्युनल प्रणाली तथा न्याय क्षेत्रमा प्रविधि र कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग लगायतका विषयमा विचार आदानप्रदान भएको थियो।
त्यसैगरी, नेपाल र बेलायतका न्याय प्रणालीका अनुभव तथा अभ्यासबाट सिक्दै नेपालको न्याय प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
भेटवार्तामा दुवै देशबीच न्याय तथा कानूनका क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप विस्तार गर्दै संस्थागत सम्बन्धलाई मजबुत बनाउने विषयमा सकारात्मक धारणा व्यक्त गरिएको थियो।
नेपालको न्याय प्रणालीमा प्रविधिको बढ्दो प्रयोग, न्यायमा नागरिकको पहुँच तथा न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने उपायबारे बेलायती अनुभव उपयोगी हुने अपेक्षा गरिएको छ।











