सिन्धुपाल्चोक, भदौ २० । ग्रामीण महिला सिर्जनशील परिवार (GMSP) सिन्धुपाल्चोकको आयोजना तथा टेवा, नेपाल (TEWA Nepal) को सहयोगमा महिनावारी स्वच्छता, रजोनिवृत्ति (Menopause) तथा स्वःहेरचाहसम्बन्धी चेतनामूलक पुनर्ताजगीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। GMSP को सभाहलमा २०८३ भदौ १९ र २० गते (४–५ सेप्टेम्बर २०२६) दुई दिन सञ्चालन भएको कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य, कर्मचारी, साधारण सदस्य तथा स्वयंसेवकहरूको सहभागिता रहेको थियो। कार्यक्रम GMSP का अध्यक्ष नानीमाया थापाको संयोजकत्वमा सञ्चालन भएको थियो। कार्यक्रममा GMSP का महासचिव कल्पना कार्की तथा परियोजना संयोजक टिका थापाले विषयवस्तुको सहजीकरण गर्नुभएको थियो।
सहभागीहरूलाई महिनावारी स्वच्छता, रजोनिवृत्तिका क्रममा महिलामा देखिन सक्ने शारीरिक तथा मानसिक परिवर्तन, स्वास्थ्यप्रति सचेतना र दैनिक जीवनमा अपनाउन सकिने स्वःहेरचाहका उपायबारे जानकारी तथा अभ्यास गराइएको थियो। कार्यक्रममा सहभागीहरूले रजोनिवृत्ति र स्वःहेरचाह आफ्नो व्यक्तिगत तथा पारिवारिक जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएको बताएका थिए। यसअघि पर्याप्त रूपमा छलफल नभएका तथा आफ्नै जीवनका लागि अत्यन्त आवश्यक विषयमा खुलेर जानकारी तथा अनुभव आदानप्रदान गर्न पाउँदा कार्यक्रम उपयोगी भएको सहभागीहरूको भनाइ थियो। कार्यक्रमका क्रममा सहभागीहरूलाई समूहगत छलफल तथा अभ्यासमार्फत आफ्ना अनुभव, समस्या र आगामी कार्ययोजनाबारे छलफल गराइएको थियो।
विशेषगरी समुदायमा महिलाहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्वःहेरचाहलाई दैनिक व्यवहारसँग जोड्ने र समुदायस्तरमा सचेतना विस्तार गर्ने योजना समेत तयार गरिएको छ। GMSP का अध्यक्ष नानीमाया थापाले ४५ देखि ५५ वर्ष उमेर समूहका महिलाका लागि रजोनिवृत्ति तथा स्वःहेरचाहसम्बन्धी जानकारी अत्यन्तै उपयोगी र आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “रजोनिवृत्ति महिलाको जीवनको स्वाभाविक अवस्था हो। यसलाई रोगका रूपमा नभई शरीरमा आउने प्राकृतिक परिवर्तनका रूपमा बुझ्दै स्वास्थ्य, पोषण, मानसिक अवस्था र स्वःहेरचाहमा ध्यान दिन आवश्यक छ।” उहाँले यस्ता कार्यक्रमलाई समुदायसम्म विस्तार गर्दै महिलाहरूलाई आफ्नो स्वास्थ्यबारे खुलेर कुरा गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमले GMSP का कार्यसमिति, कर्मचारी, साधारण सदस्य तथा स्वयंसेवकहरूको रजोनिवृत्ति, महिनावारी स्वच्छता र स्वःहेरचाहसम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धि गर्नुका साथै समुदायमा आगामी कार्यक्रम सञ्चालनका लागि साझा कार्यदिशा निर्माण गर्न महत्वपूर्ण सहयोग पुगेको आयोजकले जनाएको छ। कार्यक्रम टेवा, नेपाल (TEWA Nepal) को सहयोगमा GMSP द्वारा सञ्चालन गरिएको हो। सहभागीहरूले यस्ता व्यवहारिक तथा जीवनोपयोगी कार्यक्रमलाई निरन्तरता दिँदै विशेषगरी ४५–५५ वर्ष उमेर समूहका महिलासम्म पुर्याीउनुपर्ने आवश्यकता औंल्याएका छन्।












