मेलम्ची — ‘थोपा–थोपा मिलेर नै समुद्र बन्छ’ भन्ने भावनालाई व्यवहारमै उतार्दै इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्चीमा अध्ययनरत विद्यार्थीहरूले रसुवा बाढीपहिरोपीडितका लागि १५ हजार ५१५ रुपैयाँ सहयोग गरेका छन्।
विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूले आफ्नो खाजा खर्चबाट रकम कटाएर तथा बचत गरेको रकम संकलन गरी बुधबार रु. १५ हजार ५१५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।



रकमका हिसाबले सहयोग सानो देखिए पनि विपत्तिमा परेका नागरिकका लागि विद्यार्थीहरूले देखाएको मानवीय भावना र सामाजिक उत्तरदायित्व भने निकै ठूलो रहेको विद्यालयले जनाएको छ।
आफ्ना साना–साना आवश्यकता त्यागेर विपत्तिमा परेका दाजुभाइ तथा दिदीबहिनीका लागि सहयोगको हात बढाउनु केवल आर्थिक सहयोग नभई मानवीय संवेदना, करुणा, सहकार्य र सामाजिक उत्तरदायित्वको उदाहरण भएको विद्यालयले जनाएको छ।
विद्यार्थीहरूको यो योगदानले सहयोग गर्न रकम ठूलो हुनुपर्दैन, मन ठूलो हुनुपर्छ भन्ने सन्देश दिएको छ। एक–एक थोपा मिलेर समुद्र बनेझैँ एक–एक रुपैयाँ र एक–एक सद्भावनाले पनि विपत्तिमा परेका नागरिकको जीवनमा आशाको उज्यालो थप्न सक्ने देखाएको छ।
इन्द्रेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूको यस मानवीय कार्यप्रति विद्यालय परिवार तथा स्थानीयवासीले प्रशंसा गरेका छन्।
यसैबीच रसुवा बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। बेपत्ता भएकाहरू सकुशल भेटिऊन् भन्ने कामनासमेत गरिएको छ।
मानवता बाँडौँ, आशा जगाऔँ। आजको सानो सहयोग नै भोलिको ठूलो सहारा बन्न सक्छ।











