सिन्धुपाल्चोक — लिसंखुपाखर गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य क्षेत्रमा सम्पादन गरिएका कार्यहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार र बुधबार आयोजित समीक्षा कार्यक्रममा गाउँपालिका तथा मातहतका स्वास्थ्य संस्थाहरू र विभिन्न गैरसरकारी संस्थामार्फत सञ्चालन गरिएका स्वास्थ्यसम्बन्धी कार्यक्रम, उपलब्धि, चुनौती तथा समस्याबारे छलफल गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सागर खड्काले जानकारी दिनुभयो।



कार्यक्रमको समापन समारोहमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले स्थानीय तहले जिल्ला, प्रदेश र संघीय सरकारसँग प्रभावकारी समन्वय गरेर काम गर्न सके स्वास्थ्य सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन सकिने बताउनुभयो।
उहाँले लिसंखुपाखर गाउँपालिकाको स्वास्थ्य क्षेत्रको काम क्रमशः सुधार हुँदै गएको उल्लेख गर्दै आवश्यक प्राविधिक तथा अन्य सहयोगका लागि जनस्वास्थ्य कार्यालय सधैं तत्पर रहेको बताउनुभयो।
गाउँपालिकाकी उपाध्यक्ष मिठुदेवी लामाले सीमित स्रोतसाधनका बीच पनि गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सक्दो प्रयास गरिरहेको बताउनुभयो। उहाँले ‘उपाध्यक्ष सुत्केरी भेटघाट कार्यक्रम’ लगायतका कार्यक्रमलाई निरन्तरता दिइरहेको जानकारी दिँदै गाउँपालिकाको जनसंख्या घट्दै गएको विषयलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा आगामी दिनमा गर्नुपर्ने सुधार, सेवा प्रवाहलाई प्रभावकारी बनाउने उपाय तथा देखिएका चुनौती समाधानका विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका लेखापाल कपिल विष्टलगायत कर्मचारी तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।











