सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले रसुवाका बाढी-पहिरो प्रभावितहरूको सहयोगार्थ सङ्कलित ६ लाख ९१ हजार ४ सय १२ रुपैयाँ केन्द्रीय राहत कोषमा हस्तान्तरण गरेको छ।
प्राकृतिक विपत्तिको चपेटामा परेका रसुवाका बाढी पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सिन्धुपाल्चोक काङ्ग्रेसले सञ्चालन गरेको राहत सङ्कलन अभियानमार्फत उक्त रकम जुटाइएको हो। सङ्कलित रकम पार्टीको केन्द्रीय कार्यालयमार्फत पारदर्शी रूपमा प्रभावित क्षेत्र र पीडितहरूसमक्ष पुग्ने गरी बुझाइएको जिल्ला कार्यसमितिले जनाएको छ।



विपत्तिको कठिन परिस्थितिमा ऐक्यबद्धता जनाउँदै सिन्धुपाल्चोकका काङ्ग्रेस नेता, कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्था र विभिन्न तहका दाताहरूले उक्त अभियानमा स्वतःस्फूर्त योगदान पुर्याएका थिए।
रकम हस्तान्तरण पश्चात् नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति जङ्ग बहादुर लामाले अभियानलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार व्यक्त गरेका छन्।
सभापति लामाले भन्नुभयो, “विपत्तिको बेला मानवीय धर्म सम्झेर रसुवाका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सहयोगको हात बढाउनुहुने नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका सम्पूर्ण आदरणीय नेतागण, कार्यकर्ता, भातृ एवं शुभेच्छुक सङ्घ-संस्था र सम्पूर्ण दाताहरूप्रति जिल्ला कार्यसमितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु। यहाँहरूको यो अमूल्य सहयोगले विपत्तिमा परेकाहरूलाई ठूलो राहत र भरोसा मिल्नेछ।”











