काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षति तथा जारी उद्धार र राहतका विषयमा जानकारी गराएका छन्।
लामिछानेले सोमबार राष्ट्रपति पौडेलसँग भेट गर्दै बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था, भएको क्षति तथा प्रभावित नागरिकको उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी गराएका हुन्।



यसअघि लामिछानेले आजै प्रधानमन्त्री बालेन शाहसँग भेट गरी सरकारका पछिल्ला गतिविधि तथा बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहत कार्यबारे जानकारी लिएका थिए। प्रधानमन्त्रीसँगको भेटपछि उनले राष्ट्रपतिसमक्ष प्राप्त जानकारी तथा बाढी प्रभावित क्षेत्रको अवस्थाबारे ब्रिफिङ गरेका हुन्।
भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ। बाढी प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन आवश्यक कदम चाल्नुपर्नेमा जोड दिइएको छ।











