सिन्धुपाल्चोक । रसुवामा गएको विनाशकारी बाढी-पहिरो प्रभावितहरूका लागि नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला समितिले राहत सङ्कलन अभियान सुरु गरेको छ।
जिल्ला सभापति जङ्ग बहादुर लामाको अध्यक्षतामा बसेको बैठकले रसुवाका बाढी पीडितको उद्धार र राहतका लागि सिन्धुपाल्चोक काङ्ग्रेसको तर्फबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।



बैठकमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शिवबहादुर सुनार, पूर्व केन्द्रीय सदस्य विष्णु विक्रम थापा, महासमिति सदस्य वंशलाल तामाङ, क्षेत्र नं. २ का क्षेत्रीय सभापति आइतमान तामाङ तथा जिल्ला कार्यसमितिका पदाधिकारी र नेताहरूको उपस्थिति रहेको थियो।
बैठकमै उठ्यो प्रारम्भिक सहयोग रकम
अभियान घोषणा भएकै बैठकमा उपस्थित नेता तथा कार्यकर्ताहरूबाट स्वतःस्फूर्त रूपमा केही नगद रकम सङ्कलन भएको छ। जिल्ला समितिले यस अभियानलाई पुन: व्यापक रूपमा अघि बढाउँदै थप नगद तथा राहत सामग्री सङ्कलन गर्ने जनाएको छ।
सङ्कलित राहत रकम तथा सामग्री नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमार्फत पारदर्शी रूपमा रसुवाका बाढी पीडितहरूसमक्ष पुर्याइने जिल्ला सभापति लामाले जानकारी दिए।
विपत्तिको यस कठिन घडीमा रसुवाका दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग गर्न सिन्धु काङ्ग्रेसले सम्पूर्ण पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई अभियानमा जुट्न हार्दिक अपील गरेको छ।











