काठमन्डौं-नेपालका लायन्सहरूको तर्फबाट बाढीपहिरो तथा विपद् प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री राहत कोषमा रु. १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग हस्तान्तरण गरिएको छ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लायन्स प्रतिनिधिहरूले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा नेपालका १५ वटा लायन्स डिस्ट्रिक्टका गभर्नरहरू, लायन्स इन्टरनेसनल डाइरेक्टर राजन लम्साल, काभ्रे क्षेत्र नं. २ बाट निर्वाचित सांसद लायन बदन भण्डारीलगायतको उपस्थिति रहेको थियो।



हस्तान्तरण कार्यक्रममा हालैको बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्निर्माणका कार्यमा लायन्स र सरकारबीच गर्न सकिने सहकार्यका विषयमा महत्वपूर्ण छलफल समेत गरिएको थियो।
सो अवसरमा लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन (LCIF) बाट बाढीपहिरो प्रभावित क्षेत्रको राहत तथा पुनर्निर्माणका लागि थप रु. ३ करोडभन्दा बढी सहयोग गर्ने घोषणा गरिएको जानकारीसमेत गराइएको छ।
विपद्को हरेक कठिन घडीमा अग्रपंक्तिमा रहेर मानवीय सेवामा जुट्दै आएको लायन्सले यसपटक पनि सरकारसँग हातेमालो गर्दै प्रभावित नागरिकको राहत र पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्धका कोषाध्यक्ष प्रदीप खड्काले जानकारी गराउनुभएको छ।











