मेलम्ची — रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि मेलम्चीका स्थानीयले १ लाख ४ हजार १६५ रुपैयाँ सहयोग संकलन गरेका छन्।
२०७८ साल असार १ गतेको विनाशकारी मेलम्ची बाढीबाट प्रभावित तथा मेलम्ची पुनर्निर्माण अभियानका अभियन्ता सागरकुमार श्रेष्ठको नेतृत्वमा बिहीबार मेलम्ची बजारमा सहयोग संकलन अभियान सञ्चालन गरिएको हो।



अभियानबाट १ लाख ४ हजार १६५ रुपैयाँ संकलन भएको श्रेष्ठले जानकारी दिनुभयो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उहाँले बताउनुभयो।
श्रेष्ठका अनुसार २०७८ सालको मेलम्ची बाढीका बेला देश–विदेश तथा विभिन्न समुदायबाट प्राप्त सहयोगले प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनर्निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको थियो।
त्यही सहयोगको स्मरण गर्दै अहिले रसुवाका बाढी प्रभावित नागरिकलाई आफूहरूले पनि सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो। विपद्मा परेका नागरिकलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले रकम संकलन गरिएको श्रेष्ठको भनाइ छ।
मेलम्चीका बाढी प्रभावितबाटै सुरु भएको यो सहयोग अभियानले विपद्का बेला दुःखमा परेकालाई साथ दिने मानवीय संस्कारलाई थप बलियो बनाएको छ।











