मेलम्ची । मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले गोसाईंकुण्डको चारदिने धार्मिक तथा निजी यात्रा निकै अविस्मरणीय र आत्मीय बनेको बताएका छन्।
लामो समयदेखि गोसाईंकुण्डको धार्मिक यात्रा गर्ने इच्छा भए पनि अवसर नमिलेको बताउँदै तामाङले प्रिय भाइ विजय स्याङ्बो तथा अन्य साथीहरूको पहलमा २०८३ भदौ ६ गतेदेखि यात्रा गर्ने अवसर जुटेको उल्लेख गरेका छन्। हिमाली प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र साथीभाइबीचको आत्मीयताले यात्रा अझ विशेष बनेको उनको भनाइ छ।



यात्राको पहिलो दिन काठमाडौं हुँदै धुन्चे पुगेपछि पैदल यात्रा सुरु गरिएको थियो। उकालो बाटो, चिसो हावा तथा मनमोहक हिमाली दृश्य अवलोकन गर्दै टोली देउराली पुगेको थियो। पहिलो रात देउरालीमै बास बसेर यात्रा अघि बढाइएको थियो।
दोस्रो दिन देउरालीबाट चन्दनबारी, च्योलोङपाटी र लहुरोविनातर्फ हुँदै बुद्धपार्क पुगिएको थियो। घना जङ्गल, लालीगुराँस तथा हिमाली वनस्पतिले यात्रालाई थप रमणीय बनाएको तामाङले बताएका छन्।
यात्राको तेस्रो दिन बुद्धपार्कबाट गणेश मन्दिर हुँदै पवित्र गोसाईंकुण्डको दर्शन गरिएको थियो। कठिन उकालो, चिसो मौसम र पातलो हावाका बाबजुद टोली गोसाईंकुण्ड पुगेको थियो। हिमालले घेरिएको नीलो कुण्डको दर्शन तथा धार्मिक वातावरणले मनमा शान्ति र आनन्दको अनुभूति गराएको तामाङले उल्लेख गरेका छन्।
गोसाईंकुण्ड दर्शनपछि टोली धुन्चेतर्फ फर्किएको थियो। लामो दूरी पार गर्दै साँझ धुन्चे पुगेपछि त्यहीँ बास बसेर चौथो दिन काठमाडौं फर्किने यात्रा सुरु गरिएको थियो।
फर्किने क्रममा धुन्चे, कालिकास्थान, त्रिशूली, छहरे, टोखा हुँदै काठमाडौं र त्यसपछि मेलम्चीतर्फको यात्रा गरिएको थियो। बाटोभरिका हरियाली पहाड, झरना, नदी, गाउँबस्ती तथा हिमाली दृश्यले यात्राका रमाइला क्षणलाई थप स्मरणीय बनाएको तामाङले बताएका छन्।
नगर प्रमुख तामाङले यो यात्रा धार्मिक यात्रामा मात्र सीमित नभई प्रकृतिसँग नजिक हुने, साथीभाइबीचको आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउने तथा जीवनका अविस्मरणीय क्षणहरू सङ्गाल्ने अवसरका रूपमा लिएको बताएका छन्।
उनले यात्राभरि साथ, सहयोग र आत्मीयता प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै अबदेखि नियमित रूपमा भेटघाट तथा दैनिक कार्यमा फर्किने बताएका छन्।











