सिन्धुपाल्चोक — चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने सडकको इको खण्ड महिनादिनपछि सोमबारदेखि सञ्चालनमा आएको छ। सडक अवरुद्ध भएपछि रोकिएका कन्टेनर तथा अन्य सवारीसाधन नयाँ ट्र्याक खुलेसँगै आवतजावत गर्न थालेका छन्।
चिनियाँ कम्पनीले सडक मर्मतको काम अघि नबढाएपछि सडक डिभिजन कार्यालयले जोखिमयुक्त क्षेत्रमा बस्तीको सुरक्षा र सडक सञ्चालनलाई प्राथमिकता दिँदै आफ्नै स्रोतसाधन परिचालन गरेर चार दिनअघि काम सुरु गरेको थियो। सडक डिभिजन कार्यालय चरिकोटको सक्रियतामा स्थानीयवासी, जनप्रतिनिधि तथा ढुवानी व्यवसायीसँगको समन्वयमा इको क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरी सडक सञ्चालनमा ल्याइएको हो।



सडक सञ्चालनमा आएसँगै कोदारी बजारमा लामो समयदेखि रोकिएका कन्टेनरहरू भोटेकोसी–३ दुगुनास्थित भन्सारतर्फ जान थालेका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्य शारदाप्रसाद पराजुलीले सडक खुलेपछि कोदारीमा रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेको जानकारी दिए।
यसअघि डाक्लाङमा २६ दिनपछि र इको क्षेत्रमा झन्डै एक महिनापछि एकतर्फी ट्र्याक खोलिएको थियो। स्थानीयवासी, जनप्रतिनिधि, सडक डिभिजन कार्यालय तथा ढुवानी व्यवसायीको निरन्तर समन्वयपछि दुवै क्षेत्रमा अस्थायी रूपमा सवारी सञ्चालन सम्भव भएको हो।
सडक सञ्चालनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद भरत प्रसाद पराजुलीको समन्वय तथा पहलसँगै सडक डिभिजन कार्यालय चरिकोटको सक्रिय भूमिका रहेको बताइएको छ। जोखिमयुक्त क्षेत्रमा सडक तत्काल सञ्चालनमा ल्याउन आवश्यक प्राविधिक तथा भौतिक स्रोत परिचालन गर्न सांसद पराजुलीले सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्दै आएका थिए।
यद्यपि लिपिङमा सडक भासिनुका साथै चीनतर्फ नयाँ पहिरो खसेका कारण तातोपानी नाका अझै पूर्ण रूपमा सहज बन्न सकेको छैन। लिपिङसहितका जोखिमयुक्त स्थानमा आवश्यक मर्मत तथा सडक व्यवस्थापनको काम पूरा भएपछि मात्रै नाका पूर्ण क्षमतामा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
तातोपानी नाका चीनसँगको नेपालको प्रमुख व्यापारिक मार्ग भएकाले सडक अवरुद्ध हुँदा व्यवसायी, ढुवानी कम्पनी तथा स्थानीय बासिन्दा प्रत्यक्ष प्रभावित हुँदै आएका छन्। पछिल्लो पटक इको क्षेत्रमा ट्र्याक खुलेपछि लामो समयदेखि रोकिएको व्यापारिक आवागमनले भने केही राहत पाएको छ।











