काठमाडौं । पेशा, व्यवसाय तथा विभिन्न सिलसिलामा काठमाडौंलाई कर्मथलो बनाउँदै आएका धरानेहरूलाई एकीकृत गर्दै आपसी सहकार्य, सम्मान र एकताको भावना विकास गर्ने उद्देश्यले स्थापना भएको ‘हामी धराने काठमाडौं’ समूहले तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
वि.सं. २०८० मा स्थापना भएको समूहले विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ। नेपाली महिलाहरूको महान सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा समूहले शनिबार नयाँ बानेश्वरस्थित थापागाउँ काठमाडौं बैंक्वेटमा तीज विशेष सांस्कृतिक तथा दरखाने कार्यक्रम आयोजना गरेको हो।



कार्यक्रममा काठमाडौंमा बसोबास गर्दै आएका धराने चेलीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा धराने चेली प्रा.डा. रोजी श्रेष्ठको उपस्थिति रहेको थियो भने विशेष अतिथिमा हालै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएकी प्रीति अग्रवाल रहनुभएको थियो।
त्यस्तै, वरिष्ठ गायिका मधुरा श्रेष्ठ प्रधान, संगम श्रेष्ठ, सुरेन शाक्य, सपन श्रेष्ठ, कमलेस अग्रवाल, बालकुमारी शर्मा लगायत धरानसँग सम्बन्धित विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।
कार्यक्रमको संयोजन सुमी कर्माचार्य, पूजन न्यौपाने, कल्पना भण्डारी र सवि श्रेष्ठले गर्नुभएको थियो। संयोजक पूजन न्यौपाने प्रसाईंले उपस्थित अतिथिहरूलाई स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य र गतिविधिबारे जानकारी गराउनुभएको थियो। कार्यक्रम सुनिल शाक्य र सुमी कर्माचार्यले संयुक्त रूपमा सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा संस्थाले प्रा.डा. रोजी श्रेष्ठ र सगरमाथा आरोही प्रीति अग्रवाललाई विशेष सम्मान समेत गरेको थियो। कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरूले ‘हामी धराने काठमाडौं’ले स्थापना भएदेखि नै निरन्तर नयाँ र उल्लेखनीय गतिविधि गर्दै आएको भन्दै संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रशंसा गरेका थिए।
कार्यक्रमलाई राष्ट्रिय गायक सपन श्रेष्ठ र गायिका सरिता श्रेष्ठ गुरुङका सांगीतिक प्रस्तुतिले थप मनोरञ्जनात्मक बनाएको थियो। कार्यक्रममा तीज शुभकामना आदानप्रदान, सांस्कृतिक प्रस्तुति, तीज गीत तथा नृत्य, लाखे नाच प्रदर्शन, भेटघाट तथा दर खाने कार्यक्रम आयोजना गरिएको थियो।
यसैगरी क्याटवाक, बेस्ट डान्स, बेस्ट ड्रेस लगायतका विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो। सहभागीहरूलाई विभिन्न लक्की ड्रमार्फत पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमले काठमाडौंमा रहेका धरानेहरूबीच आपसी आत्मीयता, सांस्कृतिक एकता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।











