काभ्रे । काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका र बेथानचोक गाउँपालिकामा देखिँदै आएको फोन तथा मोबाइल नेटवर्कको समस्याबारे आज छलफल गरिएको छ।
काभ्रे क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य माननीय बदन कुमार भण्डारीको नेतृत्वमा नेपाल टेलिकमका महानिर्देशकसँग भेटघाट तथा छलफल गर्दै सम्बन्धित क्षेत्रमा देखिएको नेटवर्क समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरिएको हो।



छलफलका क्रममा भुम्लु र बेथानचोक गाउँपालिकाका विभिन्न स्थानमा मोबाइल तथा टेलिफोन नेटवर्क कमजोर हुँदा स्थानीय बासिन्दाले भोग्नुपरेका समस्या, सञ्चार सेवाको पहुँच विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका विषयमा ध्यानाकर्षण गराइएको थियो।
सांसद भण्डारीले सञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको विषय भएकाले नेटवर्क समस्या समाधानका लागि नेपाल टेलिकमले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले दुर्गम तथा नेटवर्कविहीन क्षेत्रमा सेवा विस्तार गरी स्थानीय नागरिकलाई भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउन आग्रह गर्नुभयो।
नेपाल टेलिकमका महानिर्देशकसँगको छलफलपछि भुम्लु र बेथानचोक क्षेत्रमा नेटवर्क सुधार तथा सेवा विस्तारका लागि आवश्यक प्राविधिक अध्ययन र पहल अघि बढ्ने अपेक्षा गरिएको छ।











