काठमान्डौं- सहकारीको दुई अर्ब रुपैयाँभन्दा धेरै रकम हिनामिनाका आरोपी ज्ञानबहादुर तामाङलाई नेकपा एमालेले बागमती प्रदेशको मन्त्रीमा नियुक्त गरेको छ। नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले तामाङलाई विनाविभागीयमन्त्रीको रूपमा नियुक्त गरेका हुन्। उनको बिहीबार नै शपथसमेत भइसकेको छ।
तामाङ नेसनल नमोबुद्ध सहकारीको दुई अर्ब रुपैयाँ हिनामिनामा मुछिएका व्यक्ति हुन्। उनको सहकारीलाई बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयले वर्ष दिनअघि नै समस्याग्रस्त घोषणा गरेको थियो। तामाङ नमोबुद्ध सहकारीको सञ्चालक हुन्।



मन्त्रालयका अनुसार नमोबुद्धले करिब ११ हजार बचतकर्ताको एक अर्ब ५२ करोड रुपैयाँ डुबाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। नमोबुद्धका सञ्चालक तामाङ लामो अवधि सम्पर्कविहीन बनेका थिए।
नमोबुद्ध सहकारीको कार्यालय काठमाडौं महानगरपालिका– २९, सामाखुसीमा छ। समस्याग्रस्त घोषणा भएलगत्तै कार्यालयमा ताला लागेको छ। २९ पुस ०७९ मा भएको २२औँ अधिवेशनपछि सहकारीको अध्यक्ष राजकुमार लामा छन्।
त्यसअघि सहकारीको अध्यक्ष तामाङ थिए। सहकारीमा उपाध्यक्ष विमला बस्नेत, सचिव राजु सापकोटा, कोषाध्यक्ष श्यामबहादुुर तामाङ, सदस्य बाबुराम लोप्चन र बुद्धिबहादुर तामाङ छन्। त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा नरबहादुर तामाङ, सदस्यमा कुमारी आले र पृथ्वी तामाङ छन्। तर, उनीहरू कार्यालय कम आउने गर्छन्।
सहकारी स्थापना भएको करिब डेढ दशकमा सहकारीले बचतकर्ताको संख्या ११ हजार पुर्यायो। उनीहरूबाट दुई अर्ब रुपैयाँ भन्दा धेरै बचत संकलन भयो। तर, सबै रकम अहिले संकटमा परेको छ।











