सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकामा सञ्चालित बृहत् खानेपानी आयोजनाको प्रगति, निर्माणमा देखिएका समस्या तथा आयोजना प्रभावकारी रूपमा अघि बढ्न नसक्नुका कारणबारे स्थलगत अनुगमन तथा छलफल गरिएको छ।
इन्द्रावती गाउँपालिका कार्यालयमा आयोजित छलफलमा आयोजनाको हालसम्मको प्रगति, निर्माणको अवस्था, देखिएका समस्या तथा समाधानका उपायबारे सम्बन्धित पक्षबीच विस्तृत छलफल गरिएको थियो। छलफलपछि टोलीले आयोजनाको खानेपानी मुहान तथा निर्माणस्थलको स्थलगत निरीक्षण गरी आयोजनाको वास्तविक अवस्थाबारे जानकारी लिएको हो।



अनुगमनमा पूर्वाधार मन्त्रालयका सचिव, खानेपानी विभागका कर्मचारी, सांसद प्रमिला कुलु, निर्माण व्यवसायी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। साथै पूर्वाधार मन्त्री सुनिल लम्सालका प्रमुख सल्लाहकार सञ्जीव विक्रम राणा, निजी सचिव राजेन्द्रबहादुर बम, सिन्धुपाल्चोक क्षेत्र नं. २ मा खटिएकी सांसद प्रमिला कुलु तथा सचिवालय प्रमुख सुरेश मास्के लगायतको उपस्थिति रहेको थियो।
स्थलगत निरीक्षणका क्रममा खानेपानीको मुहान, पानीको स्रोत, निर्माणाधीन पूर्वाधार तथा आयोजना कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक समस्याबारे प्राविधिक तथा सरोकारवाला पक्षसँग जानकारी लिइएको थियो।
इन्द्रावती गाउँपालिकाका नागरिकलाई स्वच्छ, सुरक्षित र भरपर्दो खानेपानी उपलब्ध गराउने उद्देश्यले अघि बढाइएको आयोजना अपेक्षित गतिमा अघि बढ्न नसक्नुका कारण पहिचान गरी समाधानका लागि सम्बन्धित मन्त्रालय, विभाग, गाउँपालिका तथा निर्माण पक्षबीच आवश्यक समन्वय र सहकार्यलाई तीव्रता दिने विषयमा जोड दिइएको छ।
स्थानीय नागरिकको आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएको खानेपानी आयोजना समयमै सम्पन्न गरी प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन आवश्यक पहल गर्ने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इन्द्रावती गाउँपालिकाको पहलमा भएको उक्त अनुगमनको उद्देश्य आयोजनाको वास्तविक समस्या पहिचान गरी सम्बन्धित निकायबीच समन्वय गरेर समाधानको बाटो खोज्नु रहेको रास्वपा इन्द्रावती गाउँपालिका सभापति उमेश अधिकारीले बताए।
अधिकारीका अनुसार आयोजनाको समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय, विभाग, पालिका र निर्माण पक्षबीच समन्वय गरी आयोजनालाई प्रभावकारी रूपमा अघि बढाउन पहल गरिनेछ।











