सिन्धुपाल्चोक । प्रतिनिधि सभा सदस्य तथा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ का सांसद भरतप्रसाद पराजुलीलाई नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सिन्धुपाल्चोकको कार्यालयमा स्वागत गरिएको छ।
महासंघको कार्यालयमा आयोजित भेटघाटका क्रममा सांसद पराजुलीले कार्यालय भवनको अवलोकन गर्दै जिल्लाका सञ्चारकर्मीहरूसँग छलफल गर्नुभएको थियो। सो अवसरमा उहाँले जिल्लाको समग्र विकाससँगै सञ्चार क्षेत्रको संस्थागत विकास र सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।



सांसद पराजुलीले स्थानीय सञ्चारमाध्यमले जनताका आवाज, स्थानीय समस्या तथा विकासका गतिविधिलाई प्रभावकारी रूपमा उजागर गर्दै आएको उल्लेख गर्दै पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित, सक्षम र प्रविधिमैत्री बनाउन सहकार्य आवश्यक रहेको बताउनुभयो।
भेटका क्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका पदाधिकारी तथा सञ्चारकर्मीहरूले जिल्लाको सञ्चार क्षेत्रका समस्या, चुनौती र आवश्यकताबारे सांसद पराजुलीको ध्यानाकर्षण गराएका थिए। सञ्चारकर्मीहरूको व्यावसायिक दक्षता अभिवृद्धि, तालिम तथा पूर्वाधार विकासमा सहयोग आवश्यक रहेको उनीहरूको भनाइ थियो।
सांसद पराजुलीले पत्रकारिता क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग र सहकार्य गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो।











