मेलम्ची । विपद् पूर्वसूचना तथा निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले मेलम्ची नगरपालिकामा ‘इन्स्ट्यान्ट पोर्टल’ सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ।
RIMES (Regional Integrated Multi-Hazard Early Warning System) को सहकार्य तथा USAID/अमेरिकी सहयोगमा आयोजित कार्यशाला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नगर उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, वडा अध्यक्ष तथा पत्रकारलगायतको सहभागिता रहेको थियो। RIMES नेपाल कार्यक्रम प्रमुख पूजा शाक्य र RIMES थाइल्यान्ड कार्यालयका अमित प्रसाद नायकसमेत कार्यक्रममा सहभागी थिए।



कार्यक्रममा RIMES नेपाल कार्यक्रम प्रमुख पूजा शाक्यले इन्स्ट्यान्ट पोर्टलको उद्देश्य, संरचना र प्रयोगबारे जानकारी दिँदै मौसम, जलवायु, जलविज्ञान तथा विपद्सम्बन्धी विभिन्न स्रोतबाट प्राप्त तथ्याङ्कलाई एकीकृत विश्लेषण गरी निर्णय प्रक्रियामा सहयोग गर्ने डिजिटल प्रणाली नै ‘Decision Support System’ भएको बताउनुभयो।
उहाँका अनुसार RIMES ले एसिया तथा अफ्रिकाका विभिन्न देशमा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन काम गर्दै आएको छ। नेपालमा जल तथा मौसम विज्ञान विभागले यसको अपनत्व लिएको तथा दक्षिण एसियामा नेपालसहित बंगलादेश, पाकिस्तान र श्रीलंकामा कार्यक्रम लागू गरिएको उहाँले जानकारी दिनुभयो।
कार्यशालामा इन्स्ट्यान्ट पोर्टलले Numerical Weather Prediction (NWP) मोडलमार्फत दुई सातासम्मको मौसम पूर्वानुमान उपलब्ध गराउने र दिनमा चार पटक पूर्वानुमान अपडेट गर्ने जानकारी दिइयो। विश्वभरबाट प्राप्त मौसमसम्बन्धी ठूलो परिमाणको तथ्याङ्क विश्लेषण गरी करिब ९ किलोमिटर रिजोलुसनमा पूर्वानुमान उपलब्ध गराउने पोर्टलको विशेषताबारे पनि जानकारी गराइएको थियो।
सफ्टवेयर डेभलपर अनुप अधिकारीले सहभागीलाई इन्स्ट्यान्ट पोर्टल प्रयोग गर्ने तरिकाबारे व्यावहारिक प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा नगरप्रमुख आइतमान तामाङले RIMES को कार्यक्रमले सरकार तथा स्थानीय तहलाई विपद् व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुगेको बताउँदै यस्ता कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहभागी अमरनाथ आचार्यले विपद् व्यवस्थापनको क्षेत्र व्यापक र प्राविधिक भएकाले सिक्न बाँकी धेरै रहेको बताउनुभयो। विगतमा विपद् आउनुअघि सूचना प्राप्त गर्ने अवस्था कमजोर भए पनि अहिले पूर्वसूचना प्रणालीका कारण समयमै सम्भावित जोखिमबारे जानकारी लिन सकिने अवस्था बनेको उहाँको भनाइ थियो।
नगर उपप्रमुख उमा प्रधानले विपद्ले मेलम्चीलाई पटक–पटक चुनौती दिइरहेको उल्लेख गर्दै सम्भावित जोखिमबारे पूर्वानुमानमार्फत जानकारी लिन इन्स्ट्यान्ट पोर्टल उपयोगी बनेको बताउनुभयो। यद्यपि पूर्वसूचनालाई गाउँ–टोल तहसम्म प्रभावकारी रूपमा पुर्याउनु अझै चुनौतीपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो।
कार्यशालाले स्थानीय तहका अधिकारी तथा जनप्रतिनिधिको पूर्वसूचना प्रणालीसम्बन्धी क्षमता अभिवृद्धि गर्नुका साथै विपद् जोखिम न्यूनीकरण, सूचना साझेदारी, समन्वय र तथ्यमा आधारित निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको सञ्चालन मेलम्ची नगरपालिकाको विपद् शाखा प्रमुख सबुना गमालले गर्नुभएको थियो।











