नवलपुर, सिन्धुपाल्चोक । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, इन्द्रावती गाउँपालिका समितिको आयोजनामा माध्यमिक तह (कक्षा ९–१०) स्तरीय ‘डिजिटल हाजिरीजवाफ प्रतियोगिता’ सम्पन्न भएको छ।
इन्द्रावती गाउँपालिकाको नवलपुरस्थित सभाहलमा शनिबार सम्पन्न प्रतियोगितामा गाउँपालिकाभित्रका १२ वटै माध्यमिक विद्यालयका विद्यार्थी टोलीले उत्साहजनक सहभागिता जनाएका थिए।



प्रतियोगितामा ८५ अङ्क प्राप्त गर्दै नवलपुर माध्यमिक विद्यालय प्रथम भएको छ। त्यस्तै, ८० अङ्कसहित ऐसेलुखर्क माध्यमिक विद्यालय द्वितीय र ६५ अङ्क प्राप्त गर्दै राजेश्वरी माध्यमिक विद्यालय तृतीय भएका छन्। विजेता विद्यालय तथा विद्यार्थीलाई कार्यक्रमका अतिथिहरूले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन इन्द्रावतीका अध्यक्ष विष्णुबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बागमती प्रदेश समिति सदस्य शारदा प्रसाद सापकोटा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा सङ्गठनका जिल्ला नेतृत्व तथा स्थानीय तहका अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो।
प्रतियोगितालाई प्रविधिमैत्री र थप रोचक बनाउन विभिन्न चरणमा सञ्चालन गरिएको थियो। प्रतियोगितामा सामान्य चरण (General Round), बहुवैकल्पिक चरण (Multiple Choice), श्रव्य–दृश्य चरण (Audio Visual) र द्रुतगतिको र्यापिड फायर (Rapid Fire) समावेश गरिएको थियो। विभिन्न चरणमा विद्यार्थीहरूले आफ्नो बौद्धिक क्षमता, ज्ञान तथा तार्किक कुशलता प्रस्तुत गरेका थिए।
कार्यक्रमको समापन गर्दै अध्यक्ष थापाले सार्वजनिक शिक्षाको उन्नयन तथा विद्यार्थीहरूको चौतर्फी विकासका लागि यस्ता प्रविधिमैत्री प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
आयोजक नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, इन्द्रावती गाउँपालिका समितिले प्रतियोगितामा सहभागी सबै विद्यालय, विद्यार्थी तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै विजेता तथा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।











