सिन्धुपाल्चोक-बाह्रबिसे–तातोपानी सडकको डाक्लाङ खण्डमा ट्र्याक खोलिए पनि कोदारीस्थित इकोमा सडक भासिएको र लिपिङमा नयाँ पहिरो खसेका कारण नाका भने अझै सञ्चालनमा आउन सकेको छैन ।



- बाह्रबिसे–तातोपानी सडकको डाक्लाङ खण्डमा २६ दिनपछि ट्र्याक खुले पनि इको र लिपिङ क्षेत्रमा पहिरो र सडक भासिएको कारण तातोपानी नाका अझै सञ्चालनमा आउन सकेको छैन।
- सडक मर्मतमा स्थानीय, जनप्रतिनिधि र विभिन्न संघसंस्थाको सक्रियता देखिए पनि नियमित यातायात सञ्चालन नहुँदासम्म चिनियाँ ढुवानी कम्पनीले सामान पठाउन मानेका छैनन्।
- दसैं नजिकिँदै गर्दा नाका कहिले खुल्छ भन्ने अनिश्चितताले व्यापारी र ढुवानी व्यवसायी थप चिन्तित छन्।
सिन्धुपाल्चोक — नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका जोड्ने बाह्रबिसे–तातोपानी सडकको डाक्लाङ खण्डमा २६ दिनपछि बिहीबार बल्ल ट्र्याक खोलिएको छ । तर भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इकोमा सडक भासिएको र लिपिङमा नयाँ पहिरो खसेका कारण नाका भने अझै सञ्चालनमा आउन सकेको छैन ।
नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुन सापकोटाका अनुसार स्थानीयवासी, जनप्रतिनिधि, सडक डिभिजन कार्यालय र ढुवानी व्यवसायीको समन्वयमा पहिरो पन्छाएर डाक्लाङमा बिहीबार एकतर्फी रूपमा ट्र्याक खोलिएको हो । ‘डाक्लाङ खण्डमा सडक खोल्न प्रतिनिधिसभा सदस्य भरतप्रसाद पराजुली, स्थानीय सरकार, सडक डिभिजन कार्यालय चरिकोट, विभिन्न संघसंस्था र स्थानीयवासीले सक्रियता देखाउनुभयो । २६ दिनपछि बल्ल ट्र्याक खुलेको छ,’ सापकोटाले भने ।
सडक खुलाउन ६ वटा टिपर र १२ वटा ठूला मेसिन प्रयोग गरिएको छ । ट्रयाक खोल्नमा इलेक्ट्रो हाइड्रोपावर, आडो, सिल्क ट्रान्सपोर्टले डिजेल, सवारीसाधन लगायतमा सहयोग गरेको उनले बताए ।
सडक डिभिजन चरिकोटका प्रमुख सिनियर इन्जिनियर नारायणदत्त भण्डारीले मंगलबारबाट सडक बनाउन सुरुवात गरिएको बताए । चारकिलो पहिरोमाथि रहेको पन्थली र इको पहिरोमाथिको कोदारी गाउँका बासिन्दासँग चरणबद्ध छलफल भएको र बस्तीको सुरक्षालाई मुख्य प्राथमिकता दिएर पहिरो पन्छाउन सुरु गरिएको उनले प्रष्ट्याए । ‘डाक्लाङमा शुक्रबारबाट सडक सहज बन्नेछ, अब इकोमा पनि सडक खोल्ने काम हुनेछ, लिपिङमा पनि मर्मतसम्भारको काम अघि बढ्नेछ, हामी सडक खोल्न लागिरहेको छ,’ भण्डारीले भने ।











