बनेपा- राज्य किन मौन छ ? बहिरा नागरिकको अधिकारमाथि कहिलेसम्म अन्याय ? सत्य दाहाल / जितपुरसिमरा मेरो छोरा बोल्न सक्दैन, सुन्न सक्दैन। तर उसका सपना छन्। ऊ पनि अरू युवाजस्तै आफ्नो सीप र मेहनतको भरमा बाँच्न चाहन्छ। उसलाई पनि सम्मानपूर्वक काम गर्न, कमाउन र आफ्नो भविष्य बनाउन मन छ।
तर जब उसले अवसर खोज्न थाल्यो, उसले सबैभन्दा पहिले सामना गर्नुपरेको कुरा उसको कमजोरी होइन, समाजको सोच र राज्यको मौनता थियो। मेरो छोरा बहिरा छ। उसले २५ दिनको कपाल काट्ने तालिम लियो। तालिम सकेर घर फर्किएपछि उसले सांकेतिक भाषामा मलाई भन्यो, “मम्मी, मलाई कुनै सलुनमा लगिदिनुहोस्, म काम सिक्न चाहन्छु।” त्यो क्षण मेरो मन गर्वले भरियो। मलाई लाग्यो, अब उसले आफ्नो भविष्यतर्फ पाइला चाल्दैछ। तर त्यो खुसी धेरै दिन टिकेन। म उसलाई लिएर सिमराका एकपछि अर्को गरी पाँचवटा सलुनमा पुगेँ। सबैलाई एउटै अनुरोध गरेँ—“मेरो छोरालाई केही समय सिक्न दिनुहोस्, उसले तालिम लिएको छ।”तर कतैबाट पनि सकारात्मक उत्तर आएन। कसैले उसको सीप हेरेन। कसैले उसको चाहना बुझेन।



सबैले उसको बहिरोपन मात्र देखे। त्यो दिन घर फर्किँदा मेरो मनमा एउटा प्रश्न बारम्बार घुमिरह्यो—के मेरो छोरा बहिरो भएर जन्मनु उसको दोष हो? यदि दोष होइन भने, किन उसले अवसर पाउँदैन? किन उसको सपना अरूको भन्दा सानो ठानिन्छ? किन समाजले उसलाई काम गर्ने मौका दिनुअघि नै अस्वीकार गरिदिन्छ? आज हामी आमाबुबा छौँ। हामी उसलाई खान, लगाउन र जोगाउन सक्छौँ। तर भोलि हामी नहुँदा के हुन्छ? यो प्रश्नले मलाई रातभर सुत्न दिँदैन। यो मेरो छोराको मात्र कथा होइन। नेपालका हजारौँ बहिरा तथा श्रवण–वाणी अपाङ्गता भएका युवाहरूको साझा पीडा हो। उनीहरूमा सीप छ, क्षमता छ, मेहनत गर्ने इच्छा छ, तर अवसर छैन। संविधानले समानताको कुरा गर्छ। समावेशी राज्यको परिकल्पना गर्छ।
स्थानीय सरकारहरूले अपाङ्गता भएका व्यक्तिहरूका लागि कार्यक्रम ल्याएको दाबी गर्छन्। तर व्यवहारमा किन बहिरा युवाहरू रोजगारको खोजीमा भौतारिन बाध्य छन्? राज्य किन मौन छ? स्थानीय तह किन बोल्दैन? जितपुरसिमरा उपमहानगरपालिका उद्योग, व्यापार र रोजगारीका अवसरले भरिएको क्षेत्र हो। यति धेरै उद्योग र व्यवसाय हुँदा पनि बहिरा व्यक्तिहरूका लागि निश्चित रोजगार कोटा किन छैन? सीपमूलक तालिमपछि काममा जोड्ने कार्यक्रम किन छैन? सांकेतिक भाषा बुझ्ने वातावरण किन बनेको छैन? समावेशिताको भाषण गर्नेहरू कहाँ छन्? अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको कुरा गर्ने निकायहरू किन मौन छन्? बहिरा व्यक्तिहरू दया खोजिरहेका छैनन्। उनीहरू अधिकार खोजिरहेका छन्। उनीहरू भिक्षा मागिरहेका छैनन्। उनीहरू अवसर मागिरहेका छन्। उनीहरूलाई अरूजस्तै काम गर्ने, सिक्ने र सम्मानका साथ बाँच्ने अवसर चाहिएको हो।
समाजको वास्तविक परीक्षा कमजोरलाई दया देखाउँदा होइन, अवसर दिँदा हुन्छ। त्यसैले आज म सम्बन्धित सबै निकायसँग आग्रह गर्न चाहन्छु—हरेक स्थानीय तहमा बहिरा तथा श्रवण–वाणी अपाङ्गता भएका व्यक्तिहरूका लागि निश्चित रोजगार कोटा व्यवस्था गरियोस्। सीपमूलक तालिमलाई रोजगारीसँग जोडियोस्। उद्योग र व्यवसायहरूलाई समावेशी रोजगार नीति लागू गर्न प्रेरित गरियोस्। अपाङ्गता भएका व्यक्तिका नाममा छुट्याइएका अवसर वास्तविक आवश्यकतामा रहेका व्यक्तिसम्म पुगेको छ कि छैन भन्ने प्रभावकारी अनुगमन गरियोस्। किनकि बहिरा हुनु पाप होइन। बोल्न नसक्नु अपराध होइन। सुन्न नसक्नु कमजोरी होइन। तर अवसरबाट वञ्चित गर्नुचाहिँ अन्याय हो। मेरो यो आवाज मेरो छोराको मात्र होइन, हजारौँ बहिरा छोरा–छोरीको भविष्यको आवाज हो। राज्यले सुनोस्, स्थानीय तहले सुनोस्, समाजले सुनोस्। दया होइन, अधिकार दिऔँ। सहानुभूति होइन, अवसर दिऔँ। समावेशी नेपाल बनाऔँ, जहाँ कुनै पनि व्यक्तिको सपना उसको अपाङ्गताले होइन, उसको क्षमताले मूल्याङ्कन गरियोस्।











