सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नं. २ अन्तर्गतका स्थानीय तहहरूको समग्र विकास तथा आगामी बजेटमा समेटिनुपर्ने योजनाका विषयमा सरोकारवाला जनप्रतिनिधि तथा पदाधिकारीबीच फलदायी छलफल भएको छ।
माननीय पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, माननीय प्रमिला कुलु तथा माननीय सचिवालय प्रमुख सुरेश मास्केबीच भएको छलफलमा क्षेत्र नं. २ अन्तर्गतका स्थानीय तहहरूको विकास आवश्यकता, प्राथमिकता र बजेट व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको हो।



छलफलमा चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाउँपालिकाका विभिन्न विकास योजनालाई प्राथमिकताका साथ अघि बढाउने विषयमा चर्चा भएको थियो।स्थानीय तहका सडक, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य, पर्यटन तथा अन्य आवश्यक पूर्वाधार निर्माणसँगै जनताको प्रत्यक्ष आवश्यकता सम्बोधन गर्ने योजनालाई आगामी बजेटमा समेट्न पहल गर्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।
क्षेत्रको दीर्घकालीन तथा समग्र विकासका लागि स्थानीय तहका प्राथमिकता पहिचान गरी आवश्यक बजेट तथा कार्यक्रममार्फत कार्यान्वयनमा लैजाने विषयमा सकारात्मक छलफल भएको सहभागीहरूले बताएका छन्।
छलफलबाट सिन्धुपाल्चोक–२ का स्थानीय तहमा रहेका विकासका सम्भावना र चुनौतीलाई सम्बोधन गर्दै प्राथमिकतामा आधारित विकास र प्रभावकारी बजेट कार्यान्वयनमा जोड दिने साझा धारणा बनेको छ।











