सिन्धुपाल्चोक । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सिन्धुपाल्चोकले ‘अबको सामुदायिक वन : युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन’ भन्ने मूल नाराका साथ सामुदायिक वन दिवस २०८३ मनाएको छ।
सामुदायिक वन दिवसको अवसरमा महासंघले चौतारा साँगाचोकगढी नगरपालिकास्तरीय माध्यमिक विद्यालय (कक्षा ९–१०) का विद्यार्थीबीच ‘सबल हरित अर्थतन्त्रका लागि युवा सहभागिता र दिगो व्यवस्थापनमा स्थानीय सरकारको प्रतिबद्धता’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिता चौतारा साँगाचोकगढी नगरपालिका–११ पाथीभरा स्थित श्री जनविकास माध्यमिक विद्यालय, साँगाचोक नर्सरीमा सम्पन्न भएको थियो।



नगरपालिकाभित्र रहेका २४ माध्यमिक विद्यालयमध्ये १२ विद्यालयका विद्यार्थी प्रतियोगितामा सहभागी भएका थिए। प्रतियोगितामा श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालय, चौताराकी छात्रा समृद्धि खड्का प्रथम, श्री सेतीदेवी माध्यमिक विद्यालय, स्याउलेकी छात्रा रेनुका तामाङ द्वितीय, श्री जुगल बोर्डिङ स्कुल, चौताराकी छात्रा रिति घले तृतीय र श्री जनविकास माध्यमिक विद्यालय, साँगाचोक पाथीभराकी छात्रा विनुशा पराजुलीले सान्त्वना स्थान हासिल गरे।
कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. ११ का अध्यक्ष रोशनराज गिरी तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रीय महासंघकी महासचिव पार्वता गौतमको विशेष आतिथ्यता रहेको थियो।
त्यस्तै वडा नं. १४ का अध्यक्ष उद्धव नेपाल, डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका प्रमुख ओमसागर भण्डारी, प्रहरी वरिष्ठ नायब उपरीक्षक राजेन्द्र कटवाल, बागमती प्रदेश महासंघका अध्यक्ष विनोद सापकोटा लगायतको उपस्थिति थियो। कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य गंगा खड्का, बागमती प्रदेश महासंघका सचिवालय सदस्य शिव नेपाल तथा स्थानीय महासंघका पदाधिकारी एवं प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रमका अवसरमा नगर प्रमुख कृष्णप्रसाद सापकोटा, वडा नं. ११ का अध्यक्ष रोशनराज गिरी, मेलम्ची स्थानीय महासंघका अध्यक्ष भोलानाथ आचार्य तथा श्री जनविकास माध्यमिक विद्यालय पाथीभरालाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो।
यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित तालकोट रानीपोखरी सामुदायिक वनलाई जिल्लाको उत्कृष्ट सामुदायिक वनका रूपमा सम्मान गरिएको महासंघले जनाएको छ।
कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख ओमसागर भण्डारी, प्रहरी वरिष्ठ नायब उपरीक्षक राजेन्द्र कटवाल र सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी केन्द्रीय महासचिव पार्वता गौतमलाई मायाको चिनो प्रदान गरिएको थियो।
वक्तृत्वकला प्रतियोगिताका लागि बागमती प्रदेश महासंघका अध्यक्ष विनोद सापकोटाको संयोजकत्वमा कविराज भट्ट र प्रभा सुवेदी सदस्य रहेको तीन सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो।
जिल्ला महासंघका पदाधिकारी, स्थानीय महासंघका पदाधिकारी, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, स्थानीय संघसंस्थाका प्रतिनिधि, सामुदायिक वनका उपभोक्ता तथा जनविकास माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा युवा पुस्तालाई सामुदायिक वन संरक्षण तथा दिगो व्यवस्थापनमा सक्रिय बनाउने विषयमा जोड दिइएको थियो।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जनकराज गिरीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम जिल्ला महासंघका सहसचिव विष्णु ढुंगानाले सञ्चालन गरेका थिए।











