सिन्धुपाल्चोक । दुईपटक स्थगित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला अधिवेशन २०८३ साउन २२ गते सम्पन्न भए पनि अधिवेशनसँगै पार्टीभित्रको विधि, पारदर्शिता, प्रतिनिधित्व र राजनीतिक संस्कारबारे प्रश्न उठेका छन्।
अधिवेशनमा उम्मेदवारी र प्रतिनिधित्वका विषयमा भएका निर्णय, जेपी सिलवालको उम्मेदवारी रोकिएपछि कमला खड्काको उम्मेदवारी अघि सारिएको विषय तथा अधिवेशनको अघिल्लो रात चौताराका विभिन्न होटलमा भएको भनिएको भेटघाट र राजनीतिक चलखेलबारे कार्यकर्तामाझ चर्चा चलेको छ। यी विषयको वास्तविकता र प्रक्रियागत आधार पार्टीले स्पष्ट पार्नुपर्ने माग उठेको छ।



त्यस्तै, विगतमा ‘नो भोट’ अभियानसँग जोडिएका व्यक्तिहरू पुनः नेतृत्वको प्रतिस्पर्धामा आउँदा राजनीतिक जवाफदेहिता र आत्मसमीक्षाको प्रश्नसमेत उठेको छ। पाँचपोखरी थाङपालका जिल्ला प्रतिनिधिको राजीनामापछि नयाँ प्रतिनिधि चयन गरिएको प्रक्रियाबारे पनि विधान र निर्वाचन निर्देशिकाअनुसार स्पष्टता आवश्यक रहेको कार्यकर्ताको भनाइ छ।
अधिवेशनमा हातहातमा गुटगत प्यानलका सूची वितरण भएको चर्चा समेत चलेको छ। यसले रास्वपाले दाबी गर्दै आएको नयाँ राजनीतिक संस्कार र पुराना दलमा देखिँदै आएको गुटबन्दीबीचको भिन्नतामाथि प्रश्न खडा गरेको छ।
अब प्रश्न कसले जित्यो भन्ने मात्र होइन, कस्तो राजनीतिक संस्कारले जित्यो? भन्ने बनेको छ। विधि, पारदर्शिता, स्वविवेक र संगठनात्मक निष्ठाले स्थान पाए रास्वपा नयाँ राजनीतिक शक्तिका रूपमा स्थापित हुन सक्नेछ; अन्यथा नयाँ चिन्हभित्र पुरानै राजनीतिक संस्कार दोहोरिने जोखिम रहने कार्यकर्ताको चिन्ता छ।
सिन्धुपाल्चोकका २९३ जना पदाधिकारी, सदस्य तथा प्रतिनिधिका लागि पनि यो अधिवेशन नेतृत्व चयन मात्र नभई राजनीतिक विवेक र निष्ठाको परीक्षा बनेको छ।











