सिन्धुपाल्चोक । पार्टीको विधान २०८३ अनुसार विधिवत् पार्टी सदस्यता लिएर संगठनमा सक्रिय रहँदै पालिका अधिवेशनबाट जिल्ला प्रतिनिधिका रूपमा छनोट भएर जिल्ला सभापति पदमा उम्मेदवारी दिएका व्यक्तिमाथि ‘डमी’को आरोप लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।
उम्मेदवार पक्षका अनुसार पार्टीको विधान २०८३ ले निर्धारण गरेको प्रक्रिया पूरा गरी पार्टी सदस्यता लिइएको, पालिका अधिवेशनमा सहभागी भई जिल्ला प्रतिनिधिका रूपमा छनोट भएको र सोही वैधानिक प्रक्रियाबाट जिल्ला सभापति पदमा उम्मेदवारी दिइएको हो।



यस्तो प्रक्रियाबाट आएका उम्मेदवारलाई ‘डमी’को संज्ञा दिनु राजनीतिक प्रतिस्पर्धाभन्दा बाहिर गएर व्यक्तिको राजनीतिक अस्तित्वमाथि प्रश्न उठाउने प्रयास भएको उम्मेदवार पक्षको भनाइ छ।
पालिका तहदेखि जिल्ला तहसम्म संगठनमा सक्रिय रहँदै विचार, एजेन्डा र आफ्नो राजनीतिक अस्तित्व बोकेर निर्वाचनको मैदानमा उत्रिएको उम्मेदवारलाई कसैको इसारामा परिचालित भएको आरोप लगाउनु उचित नभएको उनीहरूको तर्क छ।
‘कसैको इसारामा होइन, आदरणीय प्रतिनिधिहरूको विश्वास र आफ्नो राजनीतिक निर्णयका आधारमा उम्मेदवारी दिइएको हो,’ उम्मेदवार पक्षले भनेको छ, ‘विधि र विधानबाट निर्वाचित भएर आएका प्रतिनिधि र उम्मेदवारलाई डमी देख्नु वा कमजोर ठान्नु राजनीतिक संस्कार होइन।’
पार्टीकै उच्च पदमा रहेका व्यक्तिहरूले आफ्नो राजनीतिक अस्तित्व जोगाउने नाममा प्रतिस्पर्धी उम्मेदवारलाई ‘डमी’को ट्याग लगाउने प्रवृत्ति देखाउनु स्वस्थ राजनीतिक प्रतिस्पर्धाको संकेत नभएको उनीहरूको भनाइ छ।
‘विचार र एजेन्डासहित मैदानमा उत्रिनु डमी राजनीति होइन’
उम्मेदवार पक्षले राजनीतिक प्रतिस्पर्धामा विचार, एजेन्डा, संगठन निर्माणको दृष्टिकोण र आफ्नो राजनीतिक अस्तित्वसहित मैदानमा उत्रिएका उम्मेदवारलाई कमजोर देखाउने प्रयास नगर्न आग्रह गरेको छ।
विशेषगरी महिला उम्मेदवारलाई कमजोर ठान्ने, प्रतिस्पर्धीलाई होच्याउने तथा व्यक्तिगत आरोप–प्रत्यारोपमार्फत निर्वाचन प्रभावित गर्न खोज्ने प्रवृत्तिले पार्टीभित्रको समावेशी र लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने उनीहरूको दाबी छ।
‘महिला भएकै कारण कमजोर ठान्ने वा प्रतिस्पर्धी भएकै कारण होच्याउने प्रयास स्वीकार्य हुँदैन,’ उम्मेदवार पक्षको भनाइ छ, ‘निर्वाचनमा प्रतिस्पर्धा गर्ने अधिकार सबैलाई समान छ। त्यसैले विचार र एजेन्डाका आधारमा प्रतिस्पर्धा हुनुपर्छ।’
‘मतभेद लोकतन्त्रको प्राण हो, अपमान होइन’
उम्मेदवार पक्षले पार्टीभित्र विचार र मतमा मतभेद हुनु लोकतान्त्रिक अभ्यासको स्वाभाविक हिस्सा भएको बताएको छ। तर मतभेदलाई व्यक्तिमाथिको अपमान, आरोप–प्रत्यारोप र चरित्रमाथिको प्रहारमा परिणत गर्न नहुने उनीहरूको भनाइ छ।
‘मतभेद लोकतन्त्रको प्राण हो, तर व्यक्तिमाथि हुने अपमानजनक व्यवहारले लोकतन्त्रलाई होइन, असहिष्णुतालाई बलियो बनाउँछ,’ उनीहरूले भनेका छन्।
पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा, विचारको बहस र एजेन्डाका आधारमा नेतृत्व चयन हुनुपर्नेमा व्यक्तिगत आरोप–प्रत्यारोप र अपमानजनक अभिव्यक्तिले संगठनमा असहिष्णुता बढाउने उनीहरूको दाबी छ।
पार्टीको आन्तरिक निर्वाचनमा अन्ततः प्रतिनिधिहरूको विवेक र मताधिकार नै निर्णायक हुने भएकाले कसैलाई ‘डमी’ वा कमजोर उम्मेदवारको ट्याग लगाउनुको सट्टा विचार, एजेन्डा, संगठनप्रतिको योगदान र राजनीतिक दृष्टिकोणका आधारमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिइएको छ।
उम्मेदवार पक्षले लोकतान्त्रिक मूल्य, मान्यता, राजनीतिक मर्यादा र सभ्य राजनीतिक संस्कृतिको रक्षा गर्नु नेतृत्वदेखि सामान्य कार्यकर्तासम्म सबैको साझा दायित्व रहेको बताएको छ।
विधान २०८३ अनुसारको सदस्यता, पालिका अधिवेशनबाट भएको जिल्ला प्रतिनिधि छनोट र त्यसै प्रक्रियाबाट आएको जिल्ला सभापतिको उम्मेदवारीलाई सम्मान गर्दै स्वस्थ, मर्यादित र लोकतान्त्रिक प्रतिस्पर्धाको वातावरण बनाउनुपर्ने उनीहरूको आग्रह छ।











