सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला अधिवेशनअघि जिल्ला सभापति पदको उम्मेदवारीलाई लिएर पार्टीभित्र विवाद चर्किएको छ। प्रतिनिधिसभा निर्वाचनका बेला ‘नो भोट’ अभियानमा सक्रिय रहेको आरोप लागेकी संस्थापक जिल्ला सभापति माया गुरुङले पुनः सभापति पदमा उम्मेदवारी दर्ता गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको हो।



प्रथम समावेशी महिला आरोहण टोलीबाट सगरमाथा आरोहण गरेकी गुरुङ रास्वपा सिन्धुपाल्चोककी संस्थापक जिल्ला सभापति हुन्। उनी बागमती प्रदेश अध्यक्ष उत्सव अर्यालको पहलमा सभापति पदमा उम्मेदवार बनेकी बताइएको छ।
तर निर्वाचनका बेला पार्टी छाडेर ‘नो भोट’ अभियानमा लागेको व्यक्तिलाई पुनः नेतृत्वमा ल्याउन नहुने भन्दै जिल्लाका तीन गाउँपालिका सभापतिले निर्वाचन समितिमा औपचारिक उजुरी दिएका छन्।
हेलम्बु गाउँपालिका सभापति दिनेश थापा, बलेफी गाउँपालिका सभापति घमेश थापा र भोटेकोशी गाउँपालिका सभापति गंगाबहादुर श्रेष्ठले गुरुङको उम्मेदवारीविरुद्ध उजुरी दर्ता गर्दै निर्वाचनअघि ‘नो भोट’ अभियानमा उनको सक्रिय संलग्नता रहेको र यस्तो उम्मेदवारी पार्टीको मूल्य, मान्यता तथा आन्तरिक अनुशासनविपरीत भएको दाबी गरेका छन्।
पार्टीका एक प्रतिनिधिका अनुसार गुरुङ जिल्ला सभापतिको हैसियतमा पहिलो जिल्ला अधिवेशन सम्पन्न गराउने जिम्मेवारीमा रहे पनि प्रतिनिधिसभा निर्वाचनलगत्तै पदबाट राजीनामा दिएर निष्क्रिय बनेकी थिइन्। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट रास्वपाकी उम्मेदवारसमेत रहेकी थिइन्।
पार्टीका केही प्रतिनिधिले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा गुरुङले ‘नो भोट’ अभियानमा सक्रिय भूमिका खेलेको आरोप लगाएका छन्। उनीहरूका अनुसार पार्टी अप्ठ्यारो अवस्थामा रहेका बेला साथ नदिएको व्यक्तिले अहिले पुनः नेतृत्व दाबी गर्नु उचित नहुने धारणा व्यक्त गरेका छन्।
गुरुङले जिल्ला सभापति पदबाट राजीनामा दिएपछि कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी पासाङ दोर्जे तामाङले सम्हाल्दै आएका छन्। हाल सञ्चालन भइरहेको जिल्ला अधिवेशन पनि तामाङकै नेतृत्वमा अघि बढिरहेको छ।
सभापतिमा पाँच जनाको प्रतिस्पर्धा
निर्वाचन समितिका अनुसार जिल्ला सभापति पदका लागि कमला खडका, दिलराम श्रेष्ठ, कुमारमान श्रेष्ठ, पासाङ दोर्जे तामाङ र माया गुरुङ गरी पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन्।











