सिन्धुपाल्चोक । जिल्लाका व्यवसायिक फर्महरूबाट खाना पकाउने ग्यासको बिक्री–वितरणमा कालोबजारी भइरहेको भन्ने गुनासो आएपछि संयुक्त बजार अनुगमन टोलीले बलेफी गाउँपालिकाको बलेफी र कोठे बजारमा अनुगमन गरेको छ।
अनुगमनका क्रममा खाद्यान्न तथा ग्यास वितरण गर्ने ९ वटा व्यवसायिक फर्मको निरीक्षण गरिएको थियो। टोलीका अनुसार अनुगमनका क्रममा ग्यासको वितरण सामान्य अवस्थामा रहेको पाइए पनि आपूर्तिकर्ताबाट सीमित परिमाणमा मात्रै ग्यास आउने गरेका कारण पर्याप्त स्टक राख्न नसकिएको व्यवसायीहरूले बताएका छन्।



व्यवसायीहरूका अनुसार मागको तुलनामा ग्यास कम परिमाणमा प्राप्त हुने भएकाले सबै उपभोक्तालाई आवश्यक परिमाणमा उपलब्ध गराउन कठिनाइ भइरहेको छ। यद्यपि, अनुगमनका क्रममा ग्यासको कालोबजारी भएको स्पष्ट प्रमाण भने फेला नपरेको जनाइएको छ।
संयुक्त बजार अनुगमन टोलीले उपभोक्ताको हितलाई केन्द्रमा राखेर निष्पक्ष रूपमा कारोबार गर्न व्यवसायीहरूलाई निर्देशन दिएको छ। साथै, कृत्रिम अभाव सिर्जना गर्ने, बढी मूल्य लिने वा उपभोक्ता हितविपरीतका गतिविधि नगर्न सचेत गराउँदै यस्ता अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।











