काठमाडौं । बागमती प्रदेशकी भौतिक पूर्वाधार विकासमन्त्री विनु रायमाझी ले समस्याग्रस्त सहकारी र व्यवस्थित रूपमा सञ्चालन भइरहेका सहकारीलाई एउटै दृष्टिकोणले हेर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएकी छन्।
बुधबार काठमाडौंमा आयोजित बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) को सातौँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले सहकारी क्षेत्रका चुनौती समाधानका लागि सबै सरोकारवाला निकायले समन्वयात्मक भूमिका खेल्नुपर्नेमा जोड दिइन्। उनले विशेषगरी समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन तथा समाधानमा बागमती प्रोस्कुनले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताइन्।



पूर्व सहकारीमन्त्रीसमेत रहेकी रायमाझीले प्रदेशमा सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहकारी ऐन संशोधनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिइन्। उनका अनुसार संशोधन प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ र अब छिट्टै प्रदेश सभाबाट पारित हुने विश्वास व्यक्त गरिन्।
उनले संघीय सहकारी ऐनसँग बाझिएका तथा संशोधन आवश्यक रहेका प्रावधानहरूको पहिचान गरी आवश्यक सिफारिससमेत गरिसकिएको बताउँदै सरोकारवालाहरूको सुझावका आधारमा ऐन संशोधन प्रस्ताव तयार गरिएको स्पष्ट पारिन्।
मन्त्री रायमाझीले भनिन्, “सहकारी क्षेत्रको हकहित संरक्षण गर्दै यसलाई अझ बलियो र विश्वसनीय बनाउन ऐन संशोधन आवश्यक थियो। सरोकारवालाहरूको सुझाव समेटेर संशोधन प्रस्ताव तयार गरिएको छ, जुन छिट्टै लागू हुनेमा विश्वास छ।”
उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न बागमती प्रोस्कुनले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउँदै स्वस्थ र जिम्मेवार सहकारी अभियानलाई अघि बढाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइन्।











