काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालले आफ्नो इतिहासमै पहिलो पटक ‘प्रगतिशील स्रष्टा सम्मान तथा जागरण सम्मान–२०८३’ आयोजना गर्ने भएको छ। साउन १८ गते दिउँसो १ बजे बुद्धनगरस्थित इन्द्रेणी सांस्कृतिक विकास केन्द्रको सभाहलमा हुने कार्यक्रममा पाँच विधामा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।
जनसांस्कृतिक महासङ्घ नेपालका इन्चार्ज चिरन पुन र स्रष्टा सम्मान विभाग प्रमुख रमेश श्रेष्ठका अनुसार कार्यक्रममा मरणोपरान्त सम्मान, बलिदानी सम्मान, वरिष्ठ प्रगतिशील स्रष्टा सम्मान, प्रगतिशील स्रष्टा सम्मान र जागरण सम्मान गरी पाँच विधामा सम्मान प्रदान गरिनेछ।



आयोजकका अनुसार मरणोपरान्त सम्मान प्रगतिशील सांस्कृतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याई दिवंगत भइसकेका स्रष्टालाई समर्पित गरिनेछ। बलिदानी सम्मान आन्दोलन तथा संघर्षका क्रममा सहादत प्राप्त गरेका शहीदहरूको सम्मानमा प्रदान गरिनेछ। त्यसैगरी वरिष्ठ प्रगतिशील स्रष्टा सम्मान उक्त क्षेत्रका अग्रज तथा योगदानशील व्यक्तित्वलाई, प्रगतिशील स्रष्टा सम्मान सक्रिय रूपमा योगदान दिइरहेका स्रष्टालाई तथा जागरण सम्मान देश, जनता र समाजमा चेतना तथा जागरण फैलाउने अभियानमा सक्रिय स्रष्टालाई प्रदान गरिने जनाइएको छ।
कार्यक्रममा सांस्कृतिक झाँकीका रूपमा पञ्चेबाजासहित चर्चित जनवादी तथा प्रगतिशील गीतहरूको प्रस्तुति रहनेछ। गायक जीवन शर्माको कालजयी गीत ‘सिमली छायाँमा बसी’, रामेशको लोकप्रिय गीत ‘गाउँ गाउँबाट उठ’ तथा जनसांस्कृतिक महासङ्घसँग आबद्ध कलाकारहरूले ‘टुटफुट कुरा नगर’ लगायतका सांगीतिक प्रस्तुति प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको आयोजना जनसांस्कृतिक महासङ्घ नेपाल र यसको स्रष्टा सम्मान विभागले गरेको हो। सहआयोजकमा नारायण बाबू स्मृति प्रतिष्ठान, भङ्गेरी–रामेछाप तथा इन्द्रेणी सांस्कृतिक विकास केन्द्र, बुद्धनगर–काठमाडौं रहेका छन्।
देशभरका विभिन्न संघसंस्था, सांस्कृतिककर्मी, साहित्यकार, कलाकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ। साथै, साउन १८ गते दिउँसो १ बजे बुद्धनगरस्थित इन्द्रेणी सांस्कृतिक विकास केन्द्रको सभाहलमा उपस्थित भई कार्यक्रम सफल बनाउन सम्पूर्ण शुभेच्छुकलाई आयोजकले आग्रह गरेको छ।











