सिन्धुपाल्चोक । प्रतिनिधि सभा सदस्य माननीय प्रमिला कुलुज तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रमुख सल्लाहकार राजा शाक्यले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा सञ्चालित विकास आयोजना, सिँचाइ प्रणाली तथा पहिरो जोखिम क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ।
अनुगमनका क्रममा टोलीले विभिन्न सिँचाइ आयोजनाको प्रगति, निर्माणको अवस्था, सेवा प्रवाह तथा स्थानीय कृषकले भोगिरहेका समस्याबारे जानकारी लिएको थियो। साथै वर्षायाममा उच्च जोखिममा रहेका पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै जोखिम न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।



स्थानीय जनप्रतिनिधि, प्राविधिक, सरोकारवाला निकाय तथा स्थानीयवासीसँगको छलफलमा पूर्वाधारको गुणस्तर, सिँचाइ सुविधाको विस्तार र पहिरो नियन्त्रणका लागि आवश्यक योजना तथा बजेट व्यवस्थापनका विषयमा समेत चर्चा भएको थियो।
माननीय प्रमिला कुलुजले जनताको जीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै सम्पन्न गर्न, सिँचाइ सुविधालाई थप प्रभावकारी बनाउन तथा पहिरोबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।
प्रमुख सल्लाहकार राजा शाक्यले स्थलगत अनुगमनबाट प्राप्त सुझाव र आवश्यकताका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी आयोजना कार्यान्वयनलाई तीव्रता दिने तथा जोखिम व्यवस्थापनका लागि आवश्यक पहल गरिने विश्वास व्यक्त गर्नुभयो।
स्थानीयवासीले पनि पहिरो नियन्त्रण, सिँचाइ पूर्वाधारको सुदृढीकरण तथा अधुरा आयोजना शीघ्र सम्पन्न गर्न सरकारसँग माग गरेका थिए। अनुगमन टोलीले स्थानीयका सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाएको छ।











