
सिन्धुपाल्चोक । प्रतिनिधि सभा सदस्य माननीय प्रमिला कुमारी कुलुज तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रमुख सल्लाहकार राजा शाक्यले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित बलेफी प्राथमिक अस्पतालको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ।
अनुगमनका क्रममा अस्पतालमा उपलब्ध स्वास्थ्य सेवा, भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, औषधि आपूर्ति तथा सेवाग्राहीले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी लिइएको थियो। अस्पताल व्यवस्थापन, स्वास्थ्यकर्मी तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै स्वास्थ्य सेवा थप प्रभावकारी, गुणस्तरीय र सर्वसुलभ बनाउन आवश्यक सुधारका विषयमा सुझावसमेत दिइएको थियो।



माननीय कुलुजले ग्रामीण क्षेत्रका नागरिकले सहज, गुणस्तरीय र समयमै स्वास्थ्य सेवा पाउनुपर्नेमा जोड दिँदै अस्पतालको सेवा विस्तार तथा आवश्यक पूर्वाधार विकासका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी प्रमुख सल्लाहकार राजा शाक्यले अस्पतालको अवस्था, आवश्यक स्रोत–साधन तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सरकारका तर्फबाट आवश्यक सहजीकरणका लागि पहल गरिने बताउनुभयो।
स्थानीयवासीले अस्पतालमा विशेषज्ञ सेवा, पर्याप्त स्वास्थ्यकर्मी, आधुनिक उपकरण र औषधिको नियमित उपलब्धतामा जोड दिँदै आफ्ना सुझाव तथा अपेक्षाहरू राखेका थिए। अनुगमन टोलीले ती सुझावहरूलाई सम्बोधन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने विश्वास दिलाएको जनाएको छ।
तपाईको प्रतिक्रिया !










