सिन्धुपाल्चोक— भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल ले सिन्धुपाल्चोकको कोदारीस्थित अरनिको राजमार्गमा पर्ने ‘इको’ पहिरो र कोठे पहिरो तथा तातोपानी नाका क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।
कानुन मन्त्री सोविता गौतम, रास्वपा सिन्धुपाल्चोकका क्षेत्रीय सभापति उमेश लामा, साथै जिल्लाका विभिन्न राजनीतिक दलका नेताहरू र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।



अनुगमनका क्रममा टोलीले ‘इको’ पहिरोका कारण अरनिको राजमार्गमा परेको प्रभाव, सडकको अवस्था, यात्रु तथा मालवाहक सवारीसाधनले भोगिरहेका समस्या र तातोपानी नाकाको सञ्चालन अवस्थाबारे जानकारी लिएको थियो।
मन्त्री लम्सालले राजमार्गलाई सुरक्षित र नियमित सञ्चालनमा ल्याउन आवश्यक मर्मत तथा पहिरो नियन्त्रणका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन्। उनले चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीको सहज सञ्चालनका लागि सम्बन्धित निकायलाई आवश्यक समन्वय र प्रभावकारी कार्यान्वयनमा जुट्न निर्देशन दिएका छन्।
अनुगमनमा सहभागी स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरूले अरनिको राजमार्ग र तातोपानी नाकालाई दीर्घकालीन रूपमा सुरक्षित बनाउने गरी पहिरो नियन्त्रण, सडक स्तरोन्नति र आवश्यक पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए।
अनुगमनपछि प्रभावित क्षेत्रको अवस्थाबारे विस्तृत प्रतिवेदन तयार गरी आवश्यक सुधारका कार्यहरू तत्काल अघि बढाइने जनाइएको छ।











