काठमान्डौं — सडक डिभिजन कार्यालय, दोलखाले किर्ने सडकखण्ड निर्माण आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित जोगिमारा कन्स्ट्रक्सनसँग भएको सम्झौता डेढ वर्ष बित्दासमेत १२ प्रतिशत मात्रै प्रगति भएपछि ठेक्का रद्द गर्ने निर्णय गरिएको हो।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल ले शुक्रबार आयोजनास्थलको स्थलगत अनुगमन गर्दै निर्माण कम्पनीको ढिलासुस्ती र लापरवाहीप्रति असन्तुष्टि जनाएका थिए। उनले तत्काल ठेक्का रद्द गर्न निर्देशन दिएपछि सडक डिभिजन कार्यालयले आवश्यक प्रक्रिया अघि बढाएको हो।



सडक डिभिजन कार्यालय, खुर्कोटका डिभिजन प्रमुख पारसमणि हमाल का अनुसार १,२०० मिटर सडक निर्माणका लागि करिब डेढ वर्षअघि ४० करोड रुपैयाँ मा जोगिमारा कन्स्ट्रक्सनसँग सम्झौता गरिएको थियो। आयोजनामा जोगिमारा, सिद्धान्त र वाइबा कन्स्ट्रक्सनको संयुक्त सहभागिता रहे पनि मुख्य जिम्मेवारी जोगिमाराकै रहेको उनले बताए।
डिभिजन प्रमुख हमालका अनुसार मन्त्रीको अनुगमनबारे निर्माण कम्पनीका सञ्चालक तथा उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष रामकुमार डल्लाकोटी लाई जानकारी गराइएको भए पनि उनी आयोजनास्थलमा उपस्थित भएनन्।
उनले निर्माण कम्पनीकै कार्यसम्पादन कमजोर भएकाले सम्झौता रद्द गर्नुपरेको स्पष्ट पार्दै यससँगै कम्पनीलाई स्वतः कालोसूची (ब्ल्याकलिस्ट) मा राख्ने प्रक्रिया पनि अघि बढ्ने जानकारी दिए। साथै कार्यालयको कमजोरीका कारण नभई निर्माण कम्पनीको लापरवाहीका कारण यस्तो निर्णय लिनुपरेको उनले बताए।











