सिन्धुपाल्चोक। केही दिनअघि प्रतिनिधि सभा सदस्य, सिन्धुपाल्चोक क्षेत्र नं. १ का माननीय भरत प्रसाद पराजुलीले प्रतिनिधि सभामार्फत गुठी तथा रैकर जग्गाको संरक्षण, अतिक्रमण रोकथाम र वास्तविक अवस्थाको छानबिन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको ध्यानाकर्षण गराएका थिए।
सांसद पराजुलीले सार्वजनिक महत्वको विषय उठाउँदै गुठी जग्गा वर्षौंदेखि अतिक्रमण, अनधिकृत भोगचलन तथा अभिलेख व्यवस्थापनमा देखिएका समस्याका कारण राज्यको सम्पत्ति जोखिममा परेको बताएका थिए। उनले गुठी र रैकर जग्गाको स्पष्ट अभिलेख तयार गरी अतिक्रमण हटाउन तथा दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका थिए।



उक्त विषय संसदमा उठेपछि संघीय सरकारले समेत चासो देखाएको छ। गुठी संस्थानले देशभर रहेका अतिक्रमित गुठी जग्गाको खोजी, अभिलेख अद्यावधिक तथा संरक्षण अभियानलाई तीव्र बनाएको जनाएको छ। संस्थानले सम्बन्धित निकायसँग समन्वय गरी वास्तविक अवस्था पहिचान गर्ने, अतिक्रमण भएका जग्गा फिर्ता ल्याउने तथा सार्वजनिक सम्पत्तिको संरक्षणका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।
गुठी जग्गा धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्पदासँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको संरक्षण राज्यको दायित्व भएको सरोकारवालाहरूले बताएका छन्। संसदमा उठेको यो विषयपछि गुठी व्यवस्थापन र अतिक्रमण नियन्त्रणप्रति सरकारी सक्रियता बढेको संकेत देखिएको छ।











