काठामान्डौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभाग, साउदी अरबले रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै निःशुल्क राहदानी (पासपोर्ट) आवेदन फारम भर्ने सहायता हेल्प डेस्क सञ्चालनमा ल्याएको जनाएको छ।
प्रवास विभागका प्रमुख भुपाल भण्डारीका अनुसार हेल्प डेस्कमार्फत राहदानी नवीकरण, श्रम स्वीकृतिसम्बन्धी प्रक्रिया, नेपाली दूतावाससँग सम्बन्धित सेवाका लागि आवश्यक अनलाइन फारम भर्ने लगायतका विभिन्न सेवामा निःशुल्क सहयोग उपलब्ध गराइनेछ।



विदेशमा रहेका धेरै नेपाली श्रमिकले अनलाइन प्रक्रिया, आवश्यक कागजात र प्राविधिक ज्ञानको अभावका कारण विभिन्न सरकारी सेवा लिन कठिनाइ भोग्दै आएका छन्। यही समस्यालाई मध्यनजर गर्दै कुनै शुल्क नलिई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले हेल्प डेस्क सञ्चालन गरिएको प्रमुख भण्डारीले जानकारी दिए।
उनले आवश्यक सेवा लिन चाहने नेपालीलाई निर्धक्क भएर हेल्प डेस्कमा सम्पर्क गरी राहदानी, श्रम तथा दूतावाससम्बन्धी अनलाइन प्रक्रियामा निःशुल्क सहायता लिन आग्रह गरेका छन्।
रास्वपा प्रवास विभागले विदेशमा रहेका नेपाली श्रमिकको सेवा, सहजता र अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।











