काठमाडौं । प्रतिनिधि सभा सदस्य भरत प्रसाद पराजुलीले सिन्धुपाल्चोक जिल्लामा भूमि प्रशासनसँग सम्बन्धित विभिन्न समस्याको समाधानका लागि सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराएका छन्।
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ का सांसद पराजुलीले भोटेकोशी गाउँपालिकाका विद्यालयहरूको जग्गा व्यवस्थापन, जिल्ला मालपोत कार्यालय सिन्धुपाल्चोकमा कर्मचारी अभाव, गुठी व्यवस्थापन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या, साथै नापीसम्बन्धी कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक पहल गर्न आग्रह गरेका हुन्।



मन्त्रीसँग भएको भेटमा सांसद पराजुलीले जिल्ला मालपोत कार्यालयमा लामो समयदेखि कर्मचारी रिक्त रहँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको उल्लेख गर्दै तत्काल आवश्यक जनशक्ति व्यवस्थापन गर्न माग गरेका थिए।
त्यसैगरी, भोटेकोशी गाउँपालिकाका विद्यालयहरूको जग्गा व्यवस्थापन तथा स्वामित्वसम्बन्धी समस्या समाधान गर्न, गुठी व्यवस्थापनलाई व्यवस्थित बनाउन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या छिटो समाधान गर्न र नापीसम्बन्धी बाँकी कामलाई तीव्रता दिन पनि उनले सरकारको विशेष ध्यानाकर्षण गराएका छन्।
उक्त भेटमा सम्बन्धित निकायका अधिकारी तथा अन्य सरोकारवाला पक्षहरूको समेत सहभागिता रहेको थियो। छलफलका क्रममा सिन्धुपाल्चोकका नागरिकले लामो समयदेखि भोग्दै आएका भूमि प्रशासनसम्बन्धी समस्याको शीघ्र र दिगो समाधानका लागि आवश्यक पहल गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।











