
काठमाडौं, साउन २ — सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको आयोजनामा शनिबार नागढुंगा सुरुङमार्गमा ‘नागढुंगा टनेल रन एन्ड वाक’ कार्यक्रम सम्पन्न भएको छ।
नागढुंगा सुरुङमार्गबारे सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्नुका साथै यसको प्रवर्द्धन गर्ने उद्देश्यले दौड तथा पदयात्रा कार्यक्रम आयोजना गरिएको हो। नागढुंगा सुरुङमार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालका अनुसार कार्यक्रममार्फत सुरुङमार्गको महत्व, उपयोगिता र सञ्चालनसम्बन्धी जानकारी नागरिकसम्म पुर्याउने लक्ष्य राखिएको हो।



काठमाडौं–नौबिसे सडकखण्डमा निर्माणाधीन यो सुरुङमार्ग २ हजार ६८८ मिटर लम्बाइको रहेको छ। प्रारम्भिक ठेक्का सम्झौताअनुसार सन् २०२३ अप्रिल २६ भित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको ढिलासुस्ती तथा स्थानीय अवरोधका कारण आयोजना निर्धारित समयमा पूरा हुन सकेन।
निर्देशक नेपालले सुरुङमार्ग यही साउन महिनाभित्र सञ्चालनमा ल्याइने जानकारी दिएका छन्।
आयोजनाका अनुसार नागढुंगा–नौबिसे नाका हुँदै दैनिक औसतमा दुईपांग्रे बाहेक करिब ८ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्छन्। तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ।
यद्यपि, दुईपांग्रे सवारीसाधनलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति नहुने आयोजनाले स्पष्ट पारेको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं भित्रिने तथा बाहिरिने यात्रुका लागि यात्रा समय घट्ने, ट्राफिक व्यवस्थापन सहज हुने र नागढुंगा क्षेत्रमा हुने जामको समस्या कम हुने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया !










