काठमाडौँ -बागमती प्रदेशमा मन्त्रालय संख्या घटाइएको छ । मुख्यमन्त्री इन्द्र बानियाँले १४ बाट घटाएर मन्त्रालय संख्या ८ बनाएका हुन् ।



वैशाख २२ मा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय मात्रै रहने व्यवस्था गरेको थियो । सोही निर्ण आजबाट कार्यान्वयनमा आएको हो ।

बैशाख २२ को निर्णयअनुसार मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, उद्योग, भूमि तथा प्रशासन मन्त्रालय तथा सामाजिक विकास मन्त्रालय कायम गर्ने निर्णय गरेको थियो ।
मन्त्रालय संख्या घटेपछि ६ जना मन्त्री बिना विभागीय बनेका छन् । किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनुकुमारी रायमाझी पौडेललाई बिना विभागीय बनाइएको हो ।
मुख्यमन्त्री इन्द्र बानियाँ नेपाली कांग्रेसका हुन् । कांग्रेसले सबै प्रदेशमा एमालेसँग सत्ता सहकार्य तोड्ने निर्णय गरेको छ । कांग्रेस एमालेका नेताहरु नयाँ समिकरणका लागि छलफलमा छन् ।











